रियाद। साउदी अरब र थाइल्यान्डबीच हिरा चोरीका कारण टुटेको सम्बन्ध पुनः बहाल भएको छ।
साउदी अरब थाइल्यान्डसँग पुन कूटनीतिक सम्बन्ध गाँस्न राजी भएको हो।
मंगलबार साउदीले आफू थाइल्यान्डसँगको शत्रुतापूर्ण सम्बन्ध त्याग्न तयार भएको बताएसँगै यी दुई राष्ट्रबीचको सम्बन्ध सुमधुर बनेको हो।
थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओचाले साउदीको भ्रमणमै रहेका बेला यी दुई देशबीचको सम्बन्ध पुन स्थापना भएको हो।
सन् १९८९ मा यस्तो घटनाक्रम घट्यो जसका कारण यी दुई राष्ट्र दुश्मनजस्तै बनेका थिए।
त्यसबेला साउदी अरबको ९१ किलो गहना चोरी भएको थियो। त्यसमा हिरा लगायतमा मूल्यवान रत्न थिए।
राजकुमार फैसल बिन फहदको दरबारबाट यी गहनाहरु चोरी भएका थिए। थाइ नागरिक क्रिआंगक्राई टेकामोंगले सो गहना चोरेका थिए जो साउदी दरबारमा सहयोगीको रुपमा काम गर्दथे।
गहनामध्ये ५० क्यारेटको बहुमूल्य निलो हिरा ‘ब्ल्यू डायमोन्ड’ पनि हराएपछि साउदी रुष्ट बनेको थियो। ती थाई नागरिक गहना थाईल्यान्डमा पुर्याउन सफल भएका थिए।
तर थाई प्रहरीले उनको घरमा छापा मारेर गहनाहरु फेला पारेपछि ती व्यक्तिलाई सात वर्षको जेल सजाय भएको थियो।
थाई प्रहरीले गहना साउदीमै फर्काएको थियो। तर गहना आधी थियो जहाँ निलो हिरा थिएन। निलो हिरा तथा अन्य गहनाहरु थाईल्यान्डकी राजकुमारी र रानीले नै राखेको खबरपछि दुई देशको सम्बन्ध बिग्रिएको थियो।
सोही क्रममा साउदीको दरबारले मोहम्मद अल रुबैली नामका एक अनुसन्धानकर्ता थाईल्यान्ड पठाएको थियो। तर उनको पनि त्यहाँ रहस्यमयी रुपमा मृत्यु भएपछि दुई देशबीचको सम्बन्ध टुटेको थियो।