राष्ट्रियसभा सदस्यका लागि हेटौंडामा मतदान जारी, आजै बेलुका परिणाम आउने

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ३ : ०३


मकवानपुर । राष्ट्रिय सभा सदस्यअन्तर्गत खाली दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन जारी छ। निर्वाचन हेटौंडा-८ स्थित औद्योगिक क्षेत्रमा बुधबार बिहान १० बजेबाट सुरू भएको हो।

मतदान दिउँसो ३ बजे सकिने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार अपरान्ह ४ बजेपछि मतगणना सुरू गरी बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गरिनेछ।

राष्ट्रिय सभा सदस्य पदका लागि बागमतीबाट ६ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनका दुई जना, एमालेका दुई जना र नेपाल मजदुर किसान पार्टीका दुई जनाबीचबाट दुई जना चयन हुनेछन् ।

गठबन्धनले महिलामा नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेललाई उम्मेदवार बनाएको हो। प्रदेशको विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्यकाबीच चुनाव भएको हो । यस्तै, नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार छन्।

चुनावमा प्रदेशसभाका एक सय नौ जना सांसद, प्रदेशका एक सय १९ स्थानीय तहका प्रमुख एवं उपप्रमुख गरी तीन सय ४६ जनाले मतदान गर्दैछन्।

मतदानस्थलमा दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ। प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले यी दुई फरक फरक मतदान केन्द्रमा मतदान गरिरहेका छन्।

मतदानका बेलामा फोटो खिचिएको विषयमा सुरुमा विवाद समेत भएको थियो । माओवादी केन्द्र दोलखाबाट प्रतिनिधित्व गरेकी प्रदेशसभा सांसद हिमाली गोलेले भोट हालेको फोटो खिचेपछि मतदानस्थलमा विवाद भएको थियो । गोलेले भोट हालेर फोटो खिच्ने क्रममा प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले रोकेपछि दुवै जनाबीचमा भनाभन भएको हो ।

यस्तै, आफ्नो पार्टीका तर्फबाट चुनावमा उम्मेदवार नभएकाले चुनावमा भोट पनि नहाल्ने बताएको राप्रपाले मतदान गरेको पाइएको छ । सो पार्टीले प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान नगर्ने बताए पनि बागमती प्रदेशसभा सांसद रिना गुरुङ र रिता माझीले मतदान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्