जनकपुरधाममा प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ११ : १६


जनकपुरधाम । राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि देशभर मतदान भइरहेको छ । बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । तर, जनकपुरधाममा भने मतदान भइरहेका बेला सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

महेन्द्रनारायण निधि भवनमा मतदान भइरहेको छ । मतदान स्थलमा जनमत पार्टीका कार्यकर्ताहरु प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।

जनकपुरधामका विभिन्न ठाउँमा जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् ।

उनीहरुले मधेश विगत एक महिनादेखि आन्दोलित रहे पनि माग पूरा गर्न चासो नदेखाएको र मधेसमा आएर निर्वाचन गरिरहेकाले विरोध गरेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्