बेपत्ता आमाछोरा दिल्लीमा भेटिए

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ९ : ४०


बागलुङ । चार वर्षीय छोरासहित बेपत्ता बागलुङको गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक भारतको राजधानी नयाँ दिल्लीमा भेटिनुभएको छ।

घरदेखि हराएको दुई सातापछि विक आइतबार दिल्लीमा भेटिएको उहाँका श्रीमान् राजेन्द्रले जानकारी दिनुभयो।

श्रीमती र छोरा सक्षमलाई लिएर आफू नेपाल फर्किरहेको उहाँले बताउनुभयो । खोजी गर्दा भारत गएको जानकारी पाएपछि राजेन्द्र श्रीमती र छोरा लिन सोही दिन दिल्ली पुग्नुभएको थियो । दिल्लीको एक कोठामा अपरिचित महिलासँग बसेको अवस्थामा भेटाएपछि त्यहाँबाट छुटाएर ल्याएको राजेन्द्रले बताउनुभयो ।

“आमाछोरा दिल्लीमा सकुशल भेटिए, अहिले साथमा लिएर घर फर्कंदैछु”, उहाँले टेलिफोनमा भन्नुभयो, “कपिलवस्तु घर भएकी महिलाले काममा लगाइदिन्छु भनेर दिल्लीसम्म पु¥याएकी रहिछिन् ।” श्रीमतीलाई ती महिलाको नामसमेत थाहा नभएको राजेन्द्रले बताउनुभयो । राजेन्द्रका अनुसार उनीहरुबीच फोनमा कुराकानी भएपछि दिल्ली जाने योजना बनाइको थियो । रोजगारीको लोभले अपरिचित महिलाको लहैलहैमा लागेर श्रीमती दिल्ली पुगेको उहाँको भनाइ छ।

गत पुस २६ गते छोरासहित आफ्नो लुगाफाटो लिएर घरबाट निस्कनुभएकी विक आँगाखेतबाट जीप चढी बुटवल र त्यहाँबाट दिल्ली पुगेको पाइएको छ। राजेन्द्रले बेपत्ता आमाछोराको खोजीका लागि प्रहरी र वडा कार्यालयमा निवेदन दिनुभएको थियो।

बेपत्ता भएको दुई साता बित्न लाग्दासमेत स्थिति पत्ता लाग्न नसकेपछि परिवारजन चिन्तामा थिए। टेलिफोनको ‘कल डिटेल’ अनुसन्धानका लागिसमेत जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको थियो । घरबाट गएको साँझ श्रीमान्सँग कुराकानी हुँदा भाइकोमा आएकी छु भनेपछि विकको मोबाइल एकाएक बन्द भएको थियो । त्यसपछि उहाँ सम्पर्कविहीन हुनुभएको थियो । पछि फेसबुक म्यासेन्जरमा कुराकानी हुँदा श्रीमतीले आफूहरु दिल्लीमा रहेको बताएपछि खोजीमा गएको राजेन्द्रले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्