वासिङ्टन। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो राष्ट्रपतीय कार्यकालमा पत्रकारमाथि ठाडै धावा बोले।
उनले कयौं संचारमाध्यमका पत्रकारलाई कडा प्रश्न गरेपछि पत्रकार सम्मेलनको हलबाटै निकाले। कतिलाई ह्वाइट हाउसमै प्रतिबन्ध लगाए।
यतिबेला वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेन पनि पत्रकारमाथि आक्रामक देखिएका छन्। अमेरिकी संचारमाध्यमका अनुसार बाइडेनले ट्रम्प रुप देखाए।
फक्स न्युजका पत्रकार पिटर डकीलाई बाइडेनले तुच्छ गाली गरेको सीएनबीसी न्युजले जनाएको छ। उनले पिटरलाई ‘कुकुरको छोरा’सम्म भन्न भ्याए।
कोरोना प्रकोपबीच मुद्रास्फीति बढेको भन्दै ती पत्रकारले मध्यावधि चुनाव अगाडि यस विषयमा सरकारले ध्यान दिनु दायित्व हो कि होइन भन्दै प्रश्न गरेका थिए।
सो क्रममा आफ्नो माइक्रोफोन अफ भएको ठानेर बाइडेनले जिस्किँदै मुद्रास्फीति देशको सम्पत्ति भएको उल्लेख गर्दै तुच्छ गाली गरेका थिए।
अमेरिकामा फक्स न्युुजलाई डेमोक्रेटिक पार्टीकोविरुद्धको मिडिया भनेर चिनिन्छ। सो टेलिभिजनले यसअघि रिपब्लिकन पार्टीको डोनाल्ड ट्रम्पलाई बढावा दिएको आरोप लागेको थियो।
उता ट्रम्पले आफ्नो कार्यकालमा फक्सबाहेकका सीएनएन लगायतका संचारमाध्यमलाई आफूविरुद्धको संचारमाध्यम भनेका थिए।