आहा रारा गोल्डकपमा पाहुना टोली पराजित, एपीएफको अपराजित यात्रा कायम

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ८ : ३६


पोखरा। नेपाल एपीएफ क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वार्टरफाइनलमा बीवाईएससी मिनेसोटा युएसए अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो। एपीएफका लागि रबी थिङले २ तथा आभास लामिछानेले एक गोलको योगदान दिए। मिनेसोटाका लागि मिगल पेलाफक्स एक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुआतमै बीवाइएससीले अग्रता बनाएको थियो। खेलको ४७औं मिनेटमा रिले उरीको क्रसमा मिगल पेलाफक्सले हेडरमार्फत गोल गर्दै बीवाइएससीलाई अग्रता दिलाएका थिए।

तर, खेलको ७०औं मिनेटमा आवास लामिछानेले पेनाल्टीमा गोल गर्दै एपीएफलाई १–१ बराबरीमा पुर्‍याएका थिए । त्यसपछि सुपर सबको रूपमा मैदान प्रवेश गरेका रबी थिङ नायक बने। खेलको ८४औं र इन्जुरी समयको चौथो मिनेटमा मा रबीले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–१ को जित दिलाए। खेलमा थिङ नै म्यान अफ दी म्याच भए।

अब एपीएफले सेमिफाइनलमा संकटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ। आइतबारको खेल नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब बिच हुनेछ।


प्रतिक्रिया दिनुहोस्