भारतमा एकैदिनमा थप तीन लाख ३७ हजार कोरोनाबाट संक्रमित बने

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ४ : ५३


दिल्ली। भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख ३७ हजार ७०४ जना सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार, अघिल्लो दिनको तुलनामा नौ हजार ५५० कम सङ्क्रमित भएका हुन् ।

अघिल्लो दिन तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।

दैनिक सङ्क्रमितको सङ्ख्या घटेपनि सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या भने बढीरहेको छ । मन्त्रालयका अनुसार भारतमा अहिले २१ लाख १३ हजार ३६५ सङ्क्रमित अवस्थामै रहेका छन् ।

सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या भने दुई लाख ४२ हजार ६७६ रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या तीन करोड ६३ लाख एक हजार ४८२ पुगेको अधिकारीले जानकारी दिएका छन् ।

भारतमा अहिलेसम्म चार लाख ८८ हजार ८८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ती मध्ये पछिल्लो २४ घण्टामा ४८८ को मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्