जिल्ला अदालतबाट कपिलवस्तु प्रहरी सम्मानित, ६ महिनामै समात्यो ५७७ जना फरार प्रतिवादी

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  १ : ११


कपिलवस्तु । जिल्ला अदालतले कपिलवस्तु प्रहरीलाई सम्मान गरेको छ।

अदालतबाट सजाय पाएर वर्षौदेखि फरार प्रतिवादीलाई धमाधम पक्राउ गरेर फैसला कार्यान्वयनमा सघाएको भन्दै कपिलवस्तु जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई शुक्रबार सम्मान गरेको हो।

जिल्ला न्यायाधीश तेजेन्द्र प्रसाद शर्मा सापकोटाले जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा कपिलवस्तु प्रहरीका तर्फबाट उपस्थित प्रहरी निरीक्षक रेशम पौडेललाई प्रमाणपत्र प्रदान गरे। कपिलवस्तु प्रहरी प्रमुख एसपी दानबहादुर कार्की र डीएसपी कोभिड संक्रमित भएर आइसोलेसनमा भएकाले इन्सपेक्टर पौडेल बैठकमा पुगेका थिए।

प्रहरीलाई सम्मानित गर्दै जिल्ला न्यायाधीश सापकोटाले कपिलवस्तु प्रहरीले कुशल नेतृत्व पाएको र कानुन कार्यान्वयनमात्र नभई अनुसन्धानमा अब्बल काम गरेको बताए। ‘जिल्लामा तपाईंहरुले गज्जबको नेतृत्व पाउनुभएको छ। टिम र नेतृत्व गज्जबको छ। एसपी (कार्की) सापको यो नेतृत्वबाट तपाईहरुले क्षमता अभिवृद्धिमा लाभ लिने, सिक्ने कुरा पनि धेरै छन्,’ न्यायाधीश सापकोटाले भने।

६ महिनामा ५७७ जना पक्राउ

जिल्लामा एसपी दानबहादुर कार्की प्रहरी प्रमुख भएर आएपछि यो आर्थिक वर्षको ६ महिनामा जिल्ला अदालतको सजाय छलेर फरार ‍५७७ जना फरार प्रतिवादी पक्राउ परेका छन्। २०१ वर्ष ११ महिना १२ दिन कैद भुक्तान कार्यान्वयनमा आएको छ। ३२ लाख ४२ हजार ८३२ रुपैयाँ जरिवाना असुली भएको छ।

फैसला कार्यान्वयमा उच्चस्तरको कार्सम्पादन गरेकोमा सो कार्यको उच्च कदर गर्दै जिल्ला अदालतले ५ माघमा प्रहरीलाई सम्मान गर्ने निर्णय गरेको थियो। निर्णयअनुसार शुक्रबार जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा जिल्ला न्यायधीश सापकोटाले जिल्ला प्रहरी कार्यालयलाई धन्यवादसहित प्रशंसापत्र प्रदान गरे।


प्रतिक्रिया दिनुहोस्