हिमपात: जनजीवन कष्टकर, पर्यटकलाई रमाइलो

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १ : ५१


तेह्रथुम। तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्र तिनजुरे क्षेत्रमा हिउँले ढाकेर सेताम्यै बनेको छ। बिहीबार दिउँसोदेखि परेको पानीसँगै हिमपात हुँदा यस क्षेत्र हिउँले ढाकेको छ।

पूर्वी नेपालमा पर्यटकीय गन्तव्यको रुपमा परिचित तिनजुरे क्षेत्रमा तेस्रो पटक हिउँ परेको हो। हिउँ परेसँगै अत्यधिक जाडोका कारण यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ।

विशेषगरी बालबालिका र वृद्धवृद्धाहरूलाई समस्या भएको स्थानीयहरूले बताउने गरेका छन। हिउँ परेसँगै आन्तरिक पर्यटकहरू भित्रिने क्रम बाक्लो रहेको देउरालीका छिरीङ शेर्पाले बताए।

‘यहाँका नागरिकहरूलाई जाडोले समस्या भएको छ। तर, हिउँ खेल्नका लागि पूर्वी तराईका जिल्लाहरूबाट पर्यटकहरू निकै बाक्लो आउने गरेका छन्,’ उनी भन्छन्।

सुनसरीको धरानदेखि तिनजुरेमा हिउँ खेल्न आएको शंकर राईले बताए। ‘जीवनको पहिलो अनुभव हिउँमा खेल्न पाउँदा एकदमै रमाईलो भएको छ। यसअघि आउन सकेको थिइँन । यसपटक भने हिउँ सँगै रमाउन पाएको छु,’ उनले भने।

यसक्षेत्र खासगरी हिउँ पर्ने सिजन तथा गुराँस फुल्ने सिजनमा पर्यटक आउने गरेका छन्।

चित्रे, बसन्तपुर, टुटे देउराली, आरआर गार्डेन, पाथीभारा तिनजुरे, पाँचपोखरी, मंगलबारे, चौकी गुफापोखरीलगायतका स्थानहरू हिउँले ढाकेको टुटे देउरालीका होटल व्यवसायी श्री कार्कीले बताए।

उनका अनुसार हिउँ परेसँगै पर्यटकहरू साना तथा ठुला सवारी साधान रिजर्भ गरी आउन थालेका छन्। पर्यटकहरू भित्रिन थालेसँगै यहाँका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्।

विगतका वर्षहरूको तुलनामा यस वर्ष कोरोनाका कारण कमै पर्यटकहरू आएका छन्।


प्रतिक्रिया दिनुहोस्