सुरक्षित रहेर कार्यक्षेत्रमा खट्न पत्रकारलाई महासंघको आग्रह

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ८ : ४१


खोटाङ । नेपाल पत्रकार महासंघ खोटाङ शाखाले कोभिड–१९ को महामारीका समयमा स्वास्थ्य सावधानी अपनाएर कार्यक्षेत्रमा खट्न पत्रकारलाई आग्रह गरेको छ।

दिनानुदिन कोरोना संक्रमण दर वृद्धि हुँदै गएको अवस्थामा महासंघले बिहीबार विज्ञाप्तीमार्फत पत्रकारलाई संक्रमणबाट जोगिएर समाचार संकलन र सम्प्रेषणका लागि आग्रह गरेको हो।

महासंघका अध्यक्ष दिलीप खत्रीले जारी गरेको विज्ञाप्तीमा जिल्लामा कार्यरत पत्रकाररसञ्चारकर्मीलाई सकेसम्म घर वा कार्यालयमै रहेर काम गर्न, रिपोर्टिङका लागि बाहिर निस्कनुपर्ने अवस्था भएमा स्वास्थ्य सुरक्षा सम्बन्धी उच्च सतर्कता अपनाएर जिम्मेवारी वहन गर्न आग्रह गरिएको छ।

महासंघले ‘आफू बच्न र अरूलाई पनि बचाउन’ भूमिका निर्वाह गर्न आग्रह गरेको छ। महासंघका अनुसार कोरोना भाइरसको तेस्रो लहरबाट नेपालमा हालसम्म विभिन्न सञ्चार गृहमा कार्यरत २३० जना सञ्चारकर्मी संक्रमित भइसकेका छन्।

विज्ञाप्तीमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा नीति र मापदण्डलाई पूर्ण रूपमा पालना गर्ने र गराउनेक्रममा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउनका लागि उचित वातावरण बनाउन जिल्लास्थित जनप्रतिनिधि, प्रशासन, प्रहरी, राजनीतिक दल, उद्योगी, व्यवसायी, नागरिक समाज, सर्वसाधारण लगायत समक्ष अपिल गरिएको छ।


प्रतिक्रिया दिनुहोस्