यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गरि पक्राउ गर्न सिके राउतको माग

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ८ : २६


काठमाडौं । उपेन्द्र यादव नेतृत्वको पार्टीकी नेतृ एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रीमती रेणुकुमारी यादवले गौर हत्याकाण्ड दोहोर्याउने चेतावनी दिएपछि चौतर्फी विरोध भइरहेको छ।

डा.सिके राउत नेतृत्वको जनमत पार्टीलाई लक्षित गर्दै दिइएको सो अभिव्यक्ति पछि सो पार्टीले यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।

मन्त्री यादवले गौर हत्याकाण्ड स्वीकारेको भन्दै उनलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जनमत पार्टीले माग गरेको छ।

पार्टीले आज विज्ञप्ति जारी गरी देशकै संघीय मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट आएको सो अभिव्यक्ति चरम आपराधिक रहेको जनाएको छ।

‘२०६३ साल चैत्र ७ गते भएको गौर नरसंहार, जसमा कम्तीमा २८ जनाको पाशविक तरिकाले हत्या भएको थियो, जनता समाजवादी पार्टी (तत्कालीन मधेशी जनधिकार फोरम)ले नै घटाएको मन्त्रीज्यूले सगर्व घोषणा गरिसके पछि यो गौर नरसंहारको स्वीकारोक्ति पनि हो’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ नेपाल सरकारले आपराधिक अभिव्यक्ति दिने, हत्या-हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षड्यन्त्र रच्ने सो मन्त्रीलाई अविलम्ब बरखास्त गर्नु पर्दछ।’


प्रतिक्रिया दिनुहोस्