युक्रेनको विषयमा चर्काचर्की, बाइडेन भन्छन्ः युक्रेनमा आक्रमण गरे रुसका लागि विपद्

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ५ : ४०


वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन्।

‘रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ। यदि उसले युक्रेनमा आक्रमण गर्यो भने यो रुसको लागि विनाशकारी हुनेछ’ बाइडेनले भने,‘हाम्रा साझेदार र सहयोगीहरू रुस र यसको अर्थतन्त्रमा गम्भीर क्षति पुर्याउन तयार छन्।’

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस्तो आक्रमण हुँदा महत्त्वपूर्ण आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिए। ‘रुसले युक्रेनमा थप गतिविधि गरेमा मैले वाचा गरेको कडा प्रतिबन्ध लगाइनेछ जुन कसैले कहिल्यै देखेको छैन’ उनले भने।

तर त्यो रुसको गतिविधि र युक्रेनमा गर्ने आक्रमणको स्तरमा भर पर्ने पनि बाइडेनको भनाइ छ।

‘मैले पहिले नै युक्रेनीहरूलाई अमेरिकी डलर ६०० मिलियन भन्दा बढी मूल्यको परिष्कृत रक्षा उपकरणहरू पठाइसकेको छु। रूसीहरूका लागि यो महङ्गो पर्नेछ’ युक्रेनको सीमामा पुटिनले आफ्ना एक लाख सेनालाई जम्मा गरिसकेको बताउँदै उनले भने। एजेन्सी


प्रतिक्रिया दिनुहोस्