फाइभ–जी इन्टरनेटका कारण धेरै एअरलाइन्सहरुले अमेरिकामा उडान रद्द गरे

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  २ : ४०


वासिङ्टन। अमेरिकामा फाइभ–जी इन्टरनेट सेवा सुरु हुने भएपछि अन्तर्राष्ट्रिय हवाइ सेवा प्रदायकहरुले बुधबार अमेरिकासँगको उडान रद्द गरेका छन्।

द गार्जियनका अनुसार फाइभ–जी प्रविधिबाट उत्पन्न हुने सिग्नलले विमानको नेभिगेसन प्रणालीमा हस्तक्षेप गर्ने त्रासपछि एअरलाइन्सहरु अमेरिकामा उडान गर्न डराएका हुन्।

विभिन्न एअरलाइन्सहरुले उडान नगरेपछि अमेरिका जान तयार हजारौं यात्रुहरु प्रभावित भएका छन्। अधिकारीहरुका अनुसार अमेरिकाका धेरै विमानस्थलमा बुधबारदेखि फाइभ जी सेवा सुरु हुँदैछ।

भारतीय वायुसेवा एयर इन्डियाले पनि ट्वीट गर्दै अमेरिकामा फाइभ जी सेवा लागू भएका कारण उडान रद्द गर्ने जानकारी दिएको छ। इमाइरेट्स एअरलाइन्सले पनि अमेरिकाका केही विमानस्थलहरूमा फाइभजी मोबाइल नेटवर्क सेवा लागू हुने भएपछि बोस्टन, शिकागो, ड्यालस, मायामी, ओर्लान्डो, सान फ्रान्सिस्को र सिएटलका लागि अर्को जानकारी नभएसम्मका लागि उडान स्थगित गरेको बताएको छ।

फाइभ–जी सिग्नलको सी–ब्यान्डले विमानको नेभिगेसन प्रणालीमा अवरोध सिर्जना गर्न सक्ने एयरलाइन्सलाई डर छ, विशेष गरी खराब मौसमको समयमा वायुसेवाले यसअघि नै अमेरिकी उड्डयन प्राधिकरणलाई पत्र लेखेर चेतावनी दिइसकेको छ।


प्रतिक्रिया दिनुहोस्