जानाजान आफूलाई कोरोना सार्ने यी चेक गायिकाको कोरोनाकै कारण मृत्यु

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  १० : ५४


चेक। कोरोना भाइरस प्रकोपले ज्यान जोखिममा पर्छ भनेर विश्वलाई थाहा छ। तर यो सब थाहा हुँदा पनि जानीजानी आफूलाई कोरोनाभाइरस सारेकी चेक रिपब्लिककी एक लोकगायिकाको मृत्यु भएको छ।

बीबीसीका अनुसार ५७ वर्षीया गायिका हाना होर्काले कोरोनाका कारण मृत्यु भएको थियो। उनले कोभिड–१९ को खोप लगाएकी थिइनन्।
जानाजान कोरोना सारेपछि परीक्षणमा सङ्क्रमण पुष्टि भयो। त्यसपछि उनले सामाजिक सञ्जालमा आफू निको हुँदै गरेको लेखेकी थिइन्। तर त्यसको दुई दिन पछि नै उनको मृत्यु भएको हो।

उनका छोरा यान रेकका अनुसार हानाले खोप लगाएकी थिइनन् त्यसकारण उनीसँग खोपकार्ड थिएन। निश्चित स्थानमा प्रवेशका लागि कोरोना निको भएको पास अथवा कोभिड कार्डको आवश्यकता हुन्थ्यो। सोही कारण कोभिड भएर निको भएका मानिसलाई दिइने ‘रिकभरी पास’ पाउन उनी जानाजान सङ्क्रमित भइन्।

घरमा आफू र बुवालाई सङ्क्रमण भएको तर आमाले आफूहरूसँग दूरी कायम नगरी सँगै बसेको बताइएको छ।

“हामीलाई सङ्क्रमण पुष्टि भएपछि वहाँ एक साता हामीभन्दा अलग्गै बस्न पनि सक्नुहुन्थ्यो। तर आमा जतिबेला पनि हामीसँगै बसिरहनुभयो,” उनका छोराले भने।


प्रतिक्रिया दिनुहोस्