संगीतको विश्वप्रतिष्ठित ‘ग्रामी अवार्ड’ कोरोनाका कारण स्थगित

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ३ : २१


काठमाडौं। कोरोनाभाइरसको बढ्दो महामारीलाई मध्यनजर गर्दै संगीतको विश्वप्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड’ स्थगित गरिएको छ।

अब यो शो आगामी ३ अप्रिलमा अमेरिकाको लसभेगासमा हुनेछ।

आयोजक रेकर्डिङ एकेडमी एण्ड ब्रोडकास्टले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउण्टमार्फत हालका लागि अवार्ड स्थगित गरिएको जानकारी दिएको हो। यो अवार्ड यसअघि ३१ जनवरीमा गर्ने तयारी थियो।

आयोजकले सहर र राज्यका अधिकारीहरू, स्वास्थ्य र सुरक्षा विशेषज्ञ, कलाकार समुदाय र सहयोगीसँगको छलफलपछि हालका लागि अवार्ड स्थगित गर्ने निर्णय लिएको जनाएका छन्।

यो वर्ष ६४औं संस्करणको ‘ग्रामी अवार्ड’ हुँदैछ। जसमा कैयौं हस्तीहरू सहभागी हुँदै छन्। यो शोलाई प्रख्यात कमेडियन ट्रेवर नूह होस्ट गर्दै छन्। अवार्डको मनोनयन गत वर्षको नोभेम्बर २२ मा भएको थियो।

ग्रामी अवार्ड हरेक वर्ष हुने सबैभन्दा ठूलो म्युजिक अवार्ड हो। यसमा सहभागी हुने कलाकारहरूलाई उनीहरूको प्रदर्शनका आधारमा सम्मान गरिन्छ।

कोभिड महामारीका कारण ग्रामी अवार्ड दोस्रो पटक स्थगित गरिएको हो। यसअघि ६३औं संस्करणको अवार्ड सन् २०२१ मा स्थगित भएको थियो। यो अवार्ड जनवरीको सट्टा मार्चमा आयोजना गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्