लोसपामा महन्थको एकलौटी निर्णय, राजेन्द्र महतो भन्छन्ः अध्यक्षले अलिअलि पेलिहाल्छन् नि

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  २ : ४८


काठमाडौं। अध्यक्ष महन्थ ठाकुरले प्रदेश २ को अध्यक्षसहित झन्डै १७ जिल्लामा एकलौटी रूपमा नेतृत्व चयन गरेपछि लोकतान्त्रिक समाजवादी पार्टी लोसपामा विवाद बढेको छ।

ठाकुरले एकलौटी गरेपछि असन्तुष्ट अर्का नेता राजेन्द्र महतो बबरमहलस्थित कार्यालयमा जानै छाडेका छन्। यस बीचमा ठाकुरविरुद्ध प्रदेश २ का नेताहरूले नै धर्ना दिएका छन्।

आपसी सहमतिविनै प्रदेश २ मा जितेन्द्र सोनललाई अध्यक्ष बनाएको मात्रै होइन, सल्लाह नै नगरी १७ जिल्लामा अध्यक्षको जिम्मेवारी तोकेपछि लोसपामा विवाद भएको हो। जसकारण महतोलगायतका नेता असन्तुष्ट बनेका छन्।

केन्द्रीय कार्यालय नै जान छाड्नुभयो नि? भन्ने प्रश्नमा महतोले जवाफ दिए, ‘हिजोअस्ति व्यस्त भएकाले नभ्याएर नगएको हो, अब जानेछु।’

प्रदेश २ का अध्यक्ष देखि १७ जिल्लामा अध्यक्ष ठाकुरले एकलौटी निर्णय गरेको विषयमा प्रतिक्रिया लिन खोज्दा महतोले हाँस्दै भने, ‘अध्यक्ष हुन्, अलिअलि त पेलिहाल्छन् नि, यो त अध्यक्षको धर्म नै हो नेपालमा। जे होस्, हामी मिलाउँदैछौं।’


प्रतिक्रिया दिनुहोस्