कृषिमा रहेका मुगुका बालचन्द्रको लोभलाग्दो आम्दानी

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ६ : ४५


मुगुl मुगुका एक युवक तरकारी खेतिसँगै कुखुरा पालनमा रमाउन थालेका छन् । छायानाथ रारा नगरपालिका-५ कार्कीवाडाका बालचन्द्र कार्की तरकारी खेतिसँगै कुखुरा पालनमा रमाउन थालेका हुन् ।

विगत चार वर्षदेखि तरकारी खेती गर्दे आएका बुढा अहिले पनि तरकारी खेतीमै रमाउन थालेका छन् । उच्च तह अध्ययन गरेका उनी पडाइलाई थाती राख्दै कृषि क्षेत्रमा होमिएका हुन् । सात रोपनी जग्गामा तरकारी खेति गरेका उनको अहिले दैनिकी खेतबारीमै बित्नेगर्छ ।

बाह्रै महिना उत्पादन हुने दर्जनौँ प्रकारका तरकारी उत्पादन गर्दै अहिले उनी लाखौं आम्दानी गर्न सफल भएका छन् । अहिले उनलाई एक पटक पनि फुर्सद छैन । तरकारी बजारीकरणदेखि भण्डारणसम्म उनले गरेका छन् । उनी भन्छन्, ‘यसै तरकारी खेतीबाट दिनमा १ हजार ५ सयदेखि २ हजारसम्म आम्दानी गर्छु ।’

उनको परिवार परापूर्व कालदेखि नै तरकारी खेतीमा आबद्ध थियो । अहिले कार्कीले पनि पुर्खाहरूको सोही पेसालाई अंगालेका छन् । उनले परिवारको सबै खर्चका साथै बालबालिकाको पढाइ खर्च पनि यसैबाट धानिरहेको बताएका छन् ।

सदरमुकाम गमगढी बजारको छेउमा आर के कृषि फर्म सञ्चालन गरेका उनी भन्छन्, ‘सात रोपनी खेतवारीमा तरकारी खेति गर्दे आइरहेको छु । १२ महिना भरि उत्पादन हुने तरकारी आलु, प्याज, काउली, फुल गोभी, फर्सीलगायत तरकारी खेति गरिरहेको छु ।’

उनले तरकारी खेतीबाट मासिक ४५ देखि ५० हजारसम्म आम्दानी गर्दै आएको बताएका छन् । तरकारी खेतीमा बालचन्द्र मात्र होइन उनका भाउजु र ६० कटेका बुबा पनि सक्रिय छन् ।

कार्कीकी भाउजु शर्मिला कार्की बिहान बेलुका डोको नाम्लोसँगै गमगढी बजार धाउने गरेकी छन् । कर्णालीका जिल्लामा उत्पादन हुने रैथाने बाली कोदो, फापर, जौ, गहुँ खेतीभन्दा तरकारी खेति गर्न उपयुक्त ठानेर नै तरकारी खेति गरेको उनकी भाउजु शर्मिलाको भनाई छ ।

विगत १५ वर्षदेखि तरकारी खेति गर्दै आइरहेका उनका बुवा ७४ वर्षीय रतनबहादुर कार्की अहिले काउली, प्याज, फलफूलसँग रमाई रहेका छन् । उनी भन्छन्, ‘पहिला देखिनै तरकारी खेति गर्दे आइरहेका छौं । अहिले छोराले पनि यही पेसा अंगालेकाले हामी खुसी छौं ।’ उनले अहिले आफ्नो फर्ममा एक सय वटा कुखुरा रहेको बताएका छन् ।

जिल्लामा रहेका युवा, महिला, वृद्धवृद्धालाई कृषि क्षेत्रमा फड्को मार्ने कृषकलाई कृषि विकास कार्यालय मुगुले विभिन्न प्रकारका अनुदानका कार्यक्रम पनि ल्याएको छ । सो कार्यालयले कृषि कर्ममा रुमालिने कृषकलाई प्रोत्साहनका कार्यक्रमसँगै अन्य विभिन्न प्रकारका रोजगार मूलक कार्यक्रमको थालनी गरेको कृषि विकास कार्यालय मुगुले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्