सिन्धुपाल्चोकमा अज्ञात रोगका कारण पशु चौपाया धमाधम मर्न थाले

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ७ : ३९


सिन्धुपाल्चोक। चौतारा सागाचोगढी नगरपालिका वडा नम्बर २ बतासेमा फैलिएको अज्ञात रोगले धमाधम पशुचौपाया मर्न थालेका छन्।

एक सातादेखि फैलिएको सो रोगको संक्रमणबाट दर्जनभन्दा बढी चौपाया मरिसकेका छन् भने कतिपय चौपाया रोगले थला परेका स्थानीय बताउँछन्।

‘एक सातादेखि चौपायामा रोग देखिएको छ,’ स्थानीय कृष्णबहादुर थापाले भने, ‘चौपायाको मुखबाट र्‍याल आउने, काप्ने, छटपटाउने, घाँस र पानी नखाने, गोडा सुनिने, मुखमा घाउ हुने, र झोक्रिएर बस्ने जस्ता लक्षण देखिने गरेको र पछि चौपाया मर्ने गरेका छन्। मर्ने क्रम रोकिएको छैन। गाउँभरिका अधिकांश चौपायामा संक्रमण फैलिएको छ।’

रोगका कारण गाई, गोरु, भैँसी, बाख्रालगायत पशुचौपायाको मृत्यु भएको छ।

तत्काल रोग पत्ता लगाएर उपचारतर्फ गम्भीरता देखाउन स्थानीय पशुपालकले आग्रहसमेत गरेका थिए। मरेका पशु चौपाया यही रोगका कारण मरेका हुन् या अन्य कारणले भन्नेबारे अहिले थाहा भई नसकेको र खोरेत लागेको हुनसक्ने पशुपालक किसानको अनुमान छ।

पशु चौपाया मर्ने र बिरामी भएको भन्ने खबर आएलगत्तै सो रोग नियन्त्रणका लागि स्वास्थ्य टोली शुक्रवार पठाउने तयारी गरेको नगरपालिकाले जनाएको छ। अज्ञात रोगले धमाधम पशु मर्न तालेपछि स्थानीय चिन्तित भएका छन्।


प्रतिक्रिया दिनुहोस्