फ्रेन्चाइज बास्केटबलः आठ टोलीले प्रतिस्पर्धा गर्ने, दुई विदेशी खेलाडी रहने

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ३ : ५७


काठमाडौं। नेपालमा पहिलोपटक हुने पुरुष फ्रेन्चाइज बास्केटबल लिगमा आठ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।

नेपाल बास्केटबल संघ नेबा र टर्नपाइक इभेन्ट प्रालिको संयुक्त समझदारीमा हुने प्रतियोगितामा विभिन्न आठ सहरले सहभागिता जनाउने छन्। सहभागी टोलीले दुई विदेशी खेलाडी राख्न पाउने छन्।

हरेक टोलीले १२ खेलाडी राख्न पाउनेछन्। यस्तै आयोजकले मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र म्यानेजर अनिवार्य गरेको छ।

प्रतियोगिताका लागि मोफसलबाट ३० प्रतिशत खेलाडी हुनेछन्। ७० प्रतिशत खेलाडी भने काठमाडौंभित्रका हुने जानकारी गराइएको छ।

प्रतियोगिता आगामी वैशाखमा राष्ट्रिय खेलकुद परिषद् राखेप कभर्डहलमा हुन नेबाका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले बताए। प्रतियोगितालाई आधार मानी राष्ट्रिय खेलाडी छनोट हुने बताउँदै आगामी दिनमा महिला तथा जुनियर लिग हुने जानकारी दिए।

प्रतियोगिताको ४० प्रतिशत आम्दानी नेपाल बास्केटबल संघलाई जाने टर्नपाइकका कार्यकारी निर्देशक उमेश लोहनीले बताए।


प्रतिक्रिया दिनुहोस्