धाविका सुनमायालाई कर्णाली प्रदेश सरकारको सम्मान

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  २ : ४७


सुर्खेत । अल्ट्रा म्याराथन धाविका सुनमाया बुढालाई कर्णाली प्रदेश सरकारले सोमबार सम्मान गरेको छ । थाइल्यान्डमा हालै सम्पन्न एसियन अल्ट्राट्रेलरेस प्रतियोगितामा महिलातर्फ प्रथम भएकी बुढालाई कर्णाली प्रदेश सरकारले सम्मान गरेको हो ।

सोमबार कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर आएकी बुढालाई भएकी कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्मान गरेका हुन् । बुढालाई सुर्खेत विमानस्थलबाट मुख्यमन्त्री कार्यालयसम्म नागरिक सम्मान गरिएको थियो । ११० किलोमिटर अल्ट्राट्रेलरेस प्रतियोगितामा बुढाले दुई हजार प्रतियोगीलाई पछि पार्दै समग्रमा तृतीय र महिलातर्फ प्रथम स्थान हासिल गरेकी थिइन् ।

कर्णालीमा सयौं सुनमाया रहेको र उनीहरूको पहिचान गरेर प्रदेश सरकारले खेल क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको मुख्यमन्त्री शाहीले बताए ।

‘खेल क्षेत्रको विकासका लागि कर्णाली सरकारले महत्वपूर्ण काम गरिरहेको छ,’ उनले भने, ‘कर्णाली प्रदेशको पहिलो गौरवको योजनाका रूपमा प्रदेश रंगशाला निर्माणको काम सुरु गरिएको छ ।’

नेपालमै पहिलोपटक कर्णालीमा भलिवल कभर्डहल निर्माण पनि सुरु भएको मुख्यमन्त्री शाहीले बताए । ‘कर्णालीबाट प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई प्रदेश सरकारले प्रोत्साहनबापत आर्थिक पुरस्कारको व्यवस्था गरिएको छ,’ उनले भने, ‘हामीले खेलाडीको उच्च सम्मान गर्ने लक्ष्य राखेका छौं ।’


प्रतिक्रिया दिनुहोस्