एमाले दाङको अध्यक्षमा बस्नेत सर्वसम्मत चयन

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ६ : १०


दाङ। नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत सर्वसम्मतमा निर्वाचित भएका छन्। एमालेको १३औँ जिल्ला अधिवेशनले अध्यक्षमा बस्नेतसहित १२१ सदस्यीय जिल्ला कार्यसमिति पनि निर्विरोध निर्वाचित गरेको छ।

जिल्ला अधिवेशनको बन्द सत्रले सर्वसम्मतिमा आगामी तीनवर्षे कार्यकालका लागि पदाधिकारी चयन गरिएको एमाले दाङले जनाएको छ। उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिवमा कृष्ण भुसाल र हिरादेवी पुनः निर्वाचित भए।

सचिव बुढाथोकी र उपसचिव भुसालबाहेक अन्य पदमा नयाँ अनुहार आएको बताइएको छ। दाङका १० वटै पालिकाबाट भुगोलका आधारमा ५६ सदस्य पदमा नेतृत्व चयन गरिएको छ।

समावेशी क्षेत्रका आधारमा दलित, थारु, मधेशी, आदिवासी जनजाति, मुस्लिम, अपाङ्गता, महिला, पिछडिएको वर्ग अल्पसङ्ख्यकबाट ३० सदस्य पदमा, खुला सदस्यमा सबै पालिकाबाट समेटिने गरी १९ र सदस्यतर्फ नै खुला क्षेत्र महिलामा ११ गरी जिल्ला कार्यसमिति निर्वाचित गरिएको एमाले जिल्ला सचिव बुढाथोकीले जानकारी दिए।

कूल १३१ सदस्यीय जिल्ला कार्यसमिति रहने एमाले दाङमा बाँकी १० जनापछि मनोनित गरिने भएको छ। नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत दामोदर बस्नेतले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन्।


प्रतिक्रिया दिनुहोस्