‘लकडाउन’ अघि प्राप्त मागपत्र कार्यान्वयन गर्न ६ महिनाको म्याद थप

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ९ : ५९


सरकारले रोजगारदाता मुलुकबाट २०७६ फागुनअघि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि छ महिनाको म्याद दिएको छ।

कोरोना भाइरस महामारीअघि प्राप्त भएका डिमान्ड पुनः प्रमाणीकरण गर्न खर्चिलो, झन्झटिलो र असम्भव प्रायः भएकाले व्यावहारिक कठिनाइका कारण छ महिना कामदार पठाउन पाउने गरी म्याद थप गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए।

विसं २०७६ फागुनअघि प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि २०७८ मङ्सिर २२ देखि २०७९ जेठ २१ सम्म कायम रहने गरी छ महिना म्याद थप गरिएको हो।

सरकारको यो निर्णयसँग कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउनअघि प्राप्त भएका ३० हजारभन्दा बढी मागपत्र कार्यान्वयन हुनेछ।

वैदेशिक रोजगारीसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ अनुसार निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

कोरोना भाइरस महामारीका कारण सरकारले २०७६ फागुन २६ गतेदेखि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन रोक लगाएको थियो।

अहिले अन्तर्राष्ट्रिय उडान सञ्चालन भइरहेको तथा रोजगारदाता मुलुकबाट श्रमिकको माग भई आएकाले पहिले नै प्राप्त भएका माग पत्रअनुरुप श्रमिक पठाउन छ महिनाको म्याद थप गरिएको हो। रासस


प्रतिक्रिया दिनुहोस्