अमेरिकामा एकैदिन १० लाख ८० हजार कोभिड संक्रमित, अधिकांशमा ओमिक्रोन भेरियन्ट

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ८ : ३०


न्युयोर्क । अमेरिकामा एकैदिन १० लाख भन्दा बढी कोभिड संक्रमित थपिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फैलिएसँगै कोभिड संक्रमित बढेका हुन् । सोमबार एकै दिन १० लाख ८० हजार संक्रमित थपिएको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ ।

युनिभर्सिटीका अनुसार संक्रमितमध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट देखिएको छ । तर तीव्र गतिमा फैलिरहेको ओमिक्रोन भेरियन्टको लहर अझै उच्च विन्दुमा पुग्न बाँकी नै रहेको अधिकारीहरूले चेतावनी दिएका छन्।

संक्रमण फैलिए पनि अमेरिकामा विद्यालय, कलकारखाना र कार्यालय पहिलाजस्तै सञ्चालनमा छन् । पछिल्ला दिनमा कोभिडका कारण अस्पताल भर्ना हुनेको संख्या भने केही बढेको छ । सरकारी पहलबारे आलोचना खेपिरहेका राष्ट्रपति जो बाइडनले सङ्क्रमण बढे पनि विद्यालयहरू खुलै राख्न आह्वान गरेका छन्।

यस अघिका लहरको तुलनामा मृत्यु हुने र अस्पताल भर्ना हुने बिरामीहरूको सङ्ख्या पछिल्ला हप्ताहरूमा निकै कम रहे पनि अस्पताल भर्ना हुन आउनेहरूको सङ्ख्या बिस्तारै उकालो लागिरहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्