अतिरिक्त शुल्क खारेजीको माग गर्दै नेविसङ्घको रिले अनशन सुरु

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ९ : ५१


नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा विद्यार्थीसँग लिँदै आएको अतिरिक्त शुल्क खारेजीको माग गर्दै रिले अनशन सुरु गरेको छ।

नेविसङ्घले नेपाल मेडिकल कलेजले मनोमानी ढङ्गले अतिरिक्त शुल्क लिएको भन्दै उक्त शुल्क खारेजीको माग गर्दै कलेज अगाडि आजदेखि रिले अनशन सुरु गरेको हो।

नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालले कलेजले मनोमानी ढङ्गले तोकेको अतिरिक्त शुल्क खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन गर्नुपर्ने जस्ता माग राखेर अनशन सुरु गरिएको जानकारी दिए।

चिकित्सा शिक्षा आयोगले तोकेअनुसार सबै प्रक्रिया पुर्याएका विद्यार्थीको हकमा तुरून्तै नियमित कक्षा सञ्चालन गरी पठनपाठनको व्यवस्था मिलाउनुपर्ने माग पनि नेविसङ्घले राखेको छ।

होस्टेल शुल्क बजार मूल्यलाई मध्यनजर गरी वैज्ञानिक तवरले निर्धारण गर्नसमेत माग गरिएको छ।

आज विद्यार्थीहरू नरेश भट्ट, दयाल सत्सगी, राजन पाण्डे, सोनु यादव, राजु अधिकारी, मजिला गिरी, श्रीयुता खतिवडा, भागेश्वरी ऐर, रोजिना जिसी र अनु थापा रिले अनसन बसेका छन। रासस


प्रतिक्रिया दिनुहोस्