पृथ्वी जयन्तीमा सार्वजनिक बिदा हुनुपर्छ, नभए सरकार विरुद्ध विरोध सुरु गर्छौंः लिङदेन

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  २ : ३३


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले पृथ्वी जयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाए स्वागत गर्ने नत्र सरकारविरुद्ध विरोध सुरु गर्ने बताएका छन्।

‘पुष २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइयोस् भन्ने हाम्रो माग छ। सरकारले सोही अनुरुप निर्णय गरे, पुष २७ गतेका दिन हामी खुशीयाली मनाउँछौं। सरकारले त्यसो गरेन भने त्यही दिनदेखि सरकारको विरुद्धमा हाम्रो कार्यक्रम सुरु गर्छौं,’ राप्रपा अध्यक्ष लिङदेनले आइतबार भने।

लिङदेनले राजसंस्था र हिन्दुराष्ट्र पूनःस्थापनाका लागि निर्वाचन र सडकको दुवै विकल्प एकसाथ संचालन गर्ने बताए। ‘जुन बाटोबाट हाम्रो मान्यता चाँडो स्थापित हुन्छ सोही विकल्प हामी अघि सार्छौं,’ उनले भने।

‘यस सन्दर्भमा समान विचारधारा भएका हामीहरु एक ठाउँ उभिन जरुरी भएको छ, राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक समारोहलाई सम्बोधन गर्ने क्रममा उनले भने। ‘पर्ख र हेरौं भन्ने हामीसँग समय छैन, हामीलाई त्यो छुट छैन।’

लिङदेनले भने, ‘हामीले उठाइराखेको राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा कसै व्यक्तिलाई मन्त्री, प्रधानमन्त्री बनाउने नभएर देशको स्थायित्वको लागि हो। हामी सबैभन्दा माथि देश छ, देशभन्दा माथि केही पनि छैन।’

सो अवसरमा शाही शक्ति नेपालका अध्यक्ष मुनिन्द्र राजभण्डारीले भने, ‘राजसंस्था र हिन्दुराष्ट्रको अभियान रानो बिनाको मौरी जस्तै थियो। तर, राप्रपाको महाधिवेशनपछि हामीले स्पष्ट नेतृत्व पाएका छौं। राप्रपाप्रति शाही शक्ति नेपालको पूर्ण साथ, सहयोग र समर्थन रहने छ।’

राप्रपाका नेता सगुन सुन्दर लावतीका अनुसार, समान विचारधारा भएका समूह र शक्तिहरु एकजुट हुनुपर्छ भन्ने लक्ष्य छ। यसै मान्यता अनुरुप, पृथ्वी जयन्तीका दिन पार्टीले समान विचारधारा भएका समूह र शक्तिहरुसँग सहकार्य गर्नेछ, लावतीले भने।


प्रतिक्रिया दिनुहोस्