विद्युत् प्राधिकरणको सामान नेपाल एयरलाइन्सबाट ल्याइने

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १ : ३२


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको कार्गो (मालसामान) नेपाल वायुसेवा निगमको जहाजमार्फत् ढुवानी गर्ने सम्झौता भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विदेश भ्रमण जाँदा र कार्गो (सामान ढुवानी) गर्दा निगमकै जहाज प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको हो।

सोमबार सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भएको सम्झौतामा प्राधिकरणको सामान ढुवानी र त्यहाँका कर्मचारीले विदेश भ्रमण गर्दा निगमकै जहाज प्रयोग गर्ने उल्लेख गरिएको छ।

कार्यक्रममा बोल्दै मन्त्री आलेले निगम र प्राधिकरणको कुशल नेतृत्वले सो सम्झौता गरेर प्रशंसनीय कार्य गरेको भन्दै खुशी व्यक्त गरे। उनले निगमकै जहाज प्रयोग गर्न नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु तथा निजी क्षेत्रका उद्योग र व्यापारीहरुलाई पनि आग्रह गरे।


प्रतिक्रिया दिनुहोस्