पाँचदेखि दश वर्षसम्म जेल जान सक्छन् र्‍यापर लाउरे

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ३ : १४


लागू औषध कारोबार तथा प्रयोगको आरोपमा बुधबार नेपालका चर्चित र्‍यापर आशिष राणा ‘लाउरे’ गिरफ्तार भएका छन्।

पोखराबाट पक्राउ परेका लाउरे प्रचलित कानुनअनुसार कारोबारसमेत पुष्टि भएको अवस्थामा ५ वर्षदेखि १० वर्षसम्म जेल जानसक्ने देखिएको छ।

र्‍यापर लाउरे संलग्न रहेको उक्त लागू औषध प्रकरणमा करिब १५ ग्राम ब्राउन सुगर बरामद गरिएको बताइएको छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार र्‍यापर लाउरेको प्रत्यक्ष संलग्नतामा ब्राउन सुगरको डिलिङ र किनबेच भएको पाइएको छ।

लागू औषध नियन्त्रण ऐन २०३३ को संशोधन २०७२ को दफा १४ मा दण्ड सजायसम्बन्धी व्यवस्था छ। उक्त ऐनको दफा १४ को उपदफा १ ‘छ’ मा अफिम, कोका वा सोबाट बनेको लागू औषधको कारोबार गर्नेलाई मात्रा हेरी सजाय गर्ने व्यवस्था छ।

दफा १४ को उपदफा १ ‘छ’ को बुँदा १ मा २५ ग्रामसम्मको कारोबार गर्ने व्यक्तिलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ।

तर यदि र्‍यापर लाउरेले कारोबार गरेको पुष्टि नभएको तर सेवन गरेको पुष्टि भएको अवस्थामा एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुन सक्नेछ। एक वर्षसम्म कैद हुने मुद्दामा चिकित्सा केन्द्रमा उपचार गराउने गरी परिवारले जिम्मा लिएर पनि जान सक्नेछ।

प्रहरीका अनुसार बुधबार राति कास्कीको न्युरोडस्थित एक घरबाट लाउरे र उनीसँगै एक युवतीलाई पनि पक्राउ गरिएको थियो। उनीहरूसहित लागू औषधको कारोबार र प्रयोगमा संलग्न अन्य केहीलाई पनि पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्