विमान आकाशमै हुँदा कोरोना पोजिटिभ देखिएपछि यी महिलाले शौचालयमै बिताइन् ५ घण्टा!

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १० : ११


अमेरिकामा एक विद्यालयकी शिक्षिकाले पाँच घण्टा विमानको शौचालयमा समय बिताएकी छिन्।

बीबीसीका अनुसार विमान आकाशमै हुँदा कोरोनाको नतिजा पोजिटिभ आएपछि उनले सुझबुझका साथ विमानको शौचालयमा समय काटेकी हुन्।

आफूलाई लागेको कोरोना अरुलाई नसरोस् भनेर आफू विमानको शौचालय भित्र विमान अवतरण नभइन्जेलसम्म बसेको उनको भनाइ छ।

शिक्षिका मारिसा फोसियो यसै महिनाको २० तारिखमा सिकागोबाट आइसल्यान्ड गएकी थिइन्। विमान उडिरहेको बेला उनको घाँटीमा समस्या भएको थियो।

उनले सो क्रममा आफूसँग भएको कोरोना र्यापिड टेस्ट किटले कोरोना परीक्षण गरिन्। केहीबेरमै आफू कोरोना संक्रमित भएको थाहा पाएपछि उनी विमानको शौचालयमा आइसोलेट भइन्।

सो विमानमा १५० जना सवार थिए र उनले आफूले अरुलाई केही नहोस् भनेर शौचालय गएको बताउँछिन्।

हाल मारिसाको प्रशंसा भइरहेको छ। उनलाई जिम्मेवारपूर्ण शिक्षिका भनिएको छ।


प्रतिक्रिया दिनुहोस्