सिमकोट विमानस्थलको हिउँ पन्छाइएसँगै हवाई उडान सुरु

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ५ : ४७


सिमकोट। सिमकोट विमानस्थलको हिउँ पन्छाइएसँगै नियमित हवाई उडान सुरु भएको छ।

हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायात हिमपातका कारण प्रभावित भएको थियो।

बुधबारदेखि प्रभावित विमानस्थल हिउँ पन्छाइएसँगै बिहीबारबाट सञ्चालनमा आएको छ।

विमानस्थलमा जमेको हिउँ जडीबुटी व्यवसायी हुम्लाको पहलमा आज बिहान पन्छाएर हवाई यातायात सञ्चालनमा आएको जडिबुटी व्यवसायीक संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए।

विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, जिल्लाका व्यवसायीहरूको संलग्नतामा जमेको हिउँ पन्छाइएको हो। सिमकोट विमानस्थल र एप्रोनमा जमेको हिउँ पन्छाएपछि बिहीबार बिहानबाट हवाई सेवा सुचारु भएको छ।

हुम्लाको सदमुकाम सिमकोटमा दुई फिट हिउँ जमेको थियो भने उत्तरी क्षेत्रमा झण्डै चार फिट बढी हिउँ जमेको थियो।

मौसममा सुधार आएलगत्तै सीता एयरले नेपालगञ्जबाट पहिलो उडान भरेको थियो। त्यस लगत्तै तारा र समिट एयरका जहाजले पनि उडान भरेका थिए।

हवाई सेवा सुचारु भएपछि सिमकोटमा रोकिएका यात्रु तथा जडिबुटी ढुवानी सुरु भएको छ।


प्रतिक्रिया दिनुहोस्