तमु ल्होसारमा मुख्यमन्त्री राईले दिए शुभकामना

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ९ : ५९


विराटनगर। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ समुदायको तमु ल्होसारका अवसरमा शुभकामना सन्देश दिएका छन्।

तमु ल्होसारका अवसरमा प्रदेश १ र देश, विदेशमा बस्ने सम्पूर्ण गुरुङ (तमु) दाजुभाई, दिदीबहिनीहरूसहित सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै उनले शुभकामना व्यक्त गरेका छन्।

तमु ल्होसार पर्व गुरुङ समुदायले नयाँ वर्ष सुरुआतको रुपमा मनाउने गर्दछन् । दाजुभाइ आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिक रुपमा खाना खाने यो पर्वमा मौलिक सांस्कृतिक नाचगान गर्ने, मान्यजनबाट आशीर्वाद लिने, परम्परागत जातीय भेषभूषा लगाउने चलन छ।

गुरुङ समुदायमा यस पर्वका दिन आफन्तजन, नाताकुटुम्बलाई घरमा बोलाएर भोज खुवाउनुका साथै घाटु, सोरठी, चुड्का र कौडा जस्ता प्रचलित नृत्यहरू नाच्दै रमाइलो गर्ने परम्परा छ।

मुख्यमन्त्री राईको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको उल्लेख गर्दै यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको छ । ‘त्यतिमात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ, त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो।’


प्रतिक्रिया दिनुहोस्