चीनले विकास गर्‍यो कृत्रिम अभियोजनकर्ता, अब उपकरणले नै लगाउनेछ मुद्दा

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १२ : ३४


बेइजिङ। चीनले आर्टिफिसियल इन्टेलिजेन्स प्रोसिक्युटर एआईपीको विकास गरेको छ। सो अभियोजनकर्ताले अपराधीको पहिचान ९७ प्रतिशत मिलाउने दाबी गरिएको छ।

सो यन्त्रले राज्यविरुद्धको असन्तुष्टिलाई पहिचान र अपराधीलाई सजायका लागिसमेत सिफारिस गर्नेछ।

विकसित नयाँ प्रणाली एआईलाई चीनको कम्युनिष्ट पार्टीले दुरुपयोग गर्न सक्ने र एआईको जवाफदेही को हुने भन्ने बारेमा चौतर्फी चासो बढेको छ।

मुद्दाको मौखिक वर्णनका आधारमा सो यन्त्रले मुद्दा लगाउन सक्ने जनाइएको छ। यन्त्रलाई देशकै ठूलो अभियोजकर्ताको कार्यलय सांघाई पुडोङ पिपुल्स प्रोक्यरेटोरेटले विकसित गरेको हो।

एआईले वास्तविक अभियोजनकर्ताको ‘लोड’ कम गर्ने र उनीहरुलाई जटिल मुद्दामा मात्र केन्द्रित गर्ने सो उपकरण निर्माण परियोजनका वैज्ञानिक तथा प्राध्यापक सी योङले बताएका छन्।

सो प्रणाली डेस्कटप कम्प्युटर प्रणालीबाट चल्नेछ। सन् २०१५ देखि सन् २०२० सम्मका १७ हजार वास्तविक घटनामा आधारित मुद्दालाई प्रयोग गरेर एआईपीलाई तालिम दिइएको थियो। त्यस्तै, एआईपीलाई सांघाईका आठ ओटा सबैभन्दा साझा अपराधबारे पहिचान गर्न लगाइएको थियो।

यन्त्रले क्रेडिट कार्डका ठगी, सामान्य अपराध, जुवा, खतरनाक गाडी हाँक्ने, चोरी, सामान्य ठगी, नियतवश पुर्‍याइने चोट र सरकारी अधिकारीहरुको कार्यमा अवरोधजस्ता विषयमा छानविन गर्नेछ।

उपकरणले अझै धेरै प्रकारका अपराधको पहिचान गर्ने र शंकास्पदविरुद्ध एकभन्दा बढी अभियोग लगाउन सक्नेछ।

म्यानेजमेन्ट रिभ्यु जर्नलमा प्रकाशित एउटा पत्रिकामा सीले भनेका छन्, ‘यस प्रणालीले केही हदसम्म निर्णय गर्ने पक्रियामा अभियोजनकर्तालाई विस्थापित गर्नेछ।’

चीनमा केही एआई प्रविधि कानुन कार्यान्वयन निकायमा प्रयोगमा आएका छन्। तर, अपराधीलाई खानतलासी गर्ने विषयमा भने पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स प्रोसिक्युटर प्रयोगमा ल्याइएको हो।


प्रतिक्रिया दिनुहोस्