गल्फ : दोस्रो दिन शुक्र अगाडि

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ५ : ४६


काठमाडौं। प्रो शुक्रबहादुर राईले सूर्य नेपाल इस्टर्न ओपन २०२१ को दोस्रो दिन १ स्ट्रोकको अग्रता लिएका छन्।

धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको दोस्रो दिन शुक्रले ३ अन्डर ६७ को स्कोरसहित समग्रमा २ अन्डर १ सय ३८ स्कोर जोडे।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता शुक्रले १ अन्डर १ सय ३९ स्कोर बनाएका रबी खड्कालाई १ स्ट्रोकले पछि पारेका हुन्। रबीले दोस्रो दिनकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ४ अन्डर ६६ को स्कोर लेखाए । उनले पहिलो दिन ३ ओभर ७३ खेलेका थिए।

पहिलो दिन अग्रतामा रहेका नीरज तामाङले दोस्रो दिन ४ अन्डर ७४ को स्कोर जोड्दै समग्रमा तेस्रो भए। उनले समग्रमा १ ओभर १ सय १४१ स्कोर जोडेका छन्।

समग्रमा २ ओभर १ सय ४२ स्कोरसहित बलभद्र राई र धनबहादुर थापा संयुक्त चौथो स्थानमा छन्। छैटौं स्थानमा ४ ओभर १ सय ४४ स्कोर जोडेका सूर्य प्रसाद शर्मा रहेका छन्।

संयुक्त सातौँ स्थानमा ६ ओभर १ सय ४६ स्कोरसाथ सञ्जय लामा र सविन सापकोटा छन्। नवौं स्थानमा ७ ओभर १ सय ४७ स्कोर जोडेका टंकबहादुर कार्की तथा संयुक्त दशौं स्थानमा नेपाल नम्बर १ भुवन नगरकोटी र भुवन कुमार रोक्काले ९ ओभर १ सय ४९ स्कोर जोडेका छन् ।

एमेच्योरतर्फ १३ औं सागका दोहोरो स्वर्ण विजेता सुभाष तामाङ अग्रतामा छन्। उनले १ अन्डर ६९ को स्कोर जोड्दै समग्रमा ६ ओभर १ सय ४६ स्कोर जोडेका छन्।

उनलाई ७ ओभर १ सय ४७ स्कोरसहित स्थानीय गल्फर जितेन्द्र राई र युवराज भुजेलले पछ्याएका छन् । एमेच्योरतर्फ यी तीनसँगै जीवन राई, सद्भाव आचार्य र बुद्धिमान सुनुवारले कट बनाए ।

समग्रमा १५ ओभर १ सय ५५ वा सोभन्दा कम स्कोर बनाएका २२ व्यावसायिक र ६ एमेच्योर खेलाडीले अन्तिम दिनको लागि कट बनाएका छन्। प्रतियोगिताको विजेताले एक लाख ३५ हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ८८ हजार र ६५ हजार नगद पुरस्कार पाउनेछन्। प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख ७५ हजार रुपैयाँ रहेको छ।

कट बनाउने शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको अन्तिम दिन व्यावसायिक र एमेच्योर खेलाडी सम्मिलित प्रो–एम इभेन्ट हुनेछ।


प्रतिक्रिया दिनुहोस्