एभीसी सेन्ट्रल जोनमा नेपाल लगातार च्याम्पियन

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  २ : ४५


काठमाडौं। नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो पटक एभीसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधि जितेको छ।

मंगलबार बंगलादेशको ढाकामा सम्पन्न फाइनलमा महिला टोलीले उज्वेकिस्तानलाई ३-२ को सेटमा हरायो।

प्रतियोगितामा बलियो मानिएको उज्वेकिस्तानलाई नेपालले समूह चरणमा नै सोझो सेटमा हराएको थियो। तर, फाइनलमा सुरुवाती सेटबाटै आक्रामक देखिएको उज्वेकिस्तानले नेपालसामू कडा चुनौती प्रस्तुत गरेको थियो।

रोमाञ्चक बनेको खेलमा नेपालले पहिलो सेट २६-२४ ले आफ्नो पारेपनि दोस्रो सेट उज्वेकिस्तानले २४-२६ ले जित्यो।

साविक विजेतासमेत रहेको नेपालले तेस्रो सेट २५-१५ को फराकिलो अंकको अन्तरमा आफ्नो बनाए पनि चौथो सेट २२-२५ ले उज्वेकिस्तानले जित्यो।

अन्तिम तथा निर्णायक सेट नेपालले १५-११ ले जित्यो।

उज्वेकिस्तानविरुद्वको खेलमा प्रशिक्षक भट्टले पहिलो रोजाइमा सरस्वती चौधरी, प्रतिभा प्रतिभा माली, कप्तान अरुणा शाही, सलिना श्रेष्ठ, सुनिता खड्का र शान्ती थारूलाई कोर्टमा उतारेका थिए।

यसअघि नेपालले समूह चरणमा उज्वेकिस्तानलाई २५-२०, २५-२३ र २५-१४ को सोझो सेटमा हराउँदै एक खेल अगावै फाइनलमा स्थान बनाइसकेको थियो।

नेपालले दुई वर्षअघि बंगलादेशमा नै भएको एभीसी सेन्ट्रल जोनको पहिलो संस्करणको फाइनलमा माल्दिभ्समाथि ३-० को जित निकाल्दै कीर्तिमानी उपाधि हात पारेको थियो।


प्रतिक्रिया दिनुहोस्