शक्तिशाली जेम्स वेब टेलिस्कोप जसले खोज्नेछ ब्रम्हाण्डको पहिलो तारा

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  १ : ०६


नासाका वैज्ञानिकहरुले ब्रह्माण्डको सबैभन्दा पहिलो तारा खोज्ने उद्देश्यसहित दश अर्ब डलर खर्च गरेर बनाएको जेम्स वेब टेलिस्कोप गत शनिवार अन्तरिक्ष यात्रामा निस्किएको छ।

दक्षिण अमेरिकाकी फ्रेन्च गुयानाको एरियन रकेटबाट इतिहासकै सबैभन्दा ठूलो भनिएको जेम्स वेब स्पेस टेलिस्कोप प्रक्षेपण गरिएको हो।

उक्त उडान पृथ्वीको कक्षमा ३० मिनेटभन्दा कम समय रहेको थियो र केन्याको मालिन्डीस्थित एन्टेनाले प्रक्षेपण सफल भएको सङ्केत प्राप्त भएको पुष्टि गरेको थियो।

चन्द्रमामा एपोलो मिसनमार्फत अन्तरिक्षयान पुर्‍याउने प्रमुख भूमिका खेलेका वेबको नाम दिइएको यो नयाँ टेलिस्कोप हबल टेलिस्कोपको उत्तराधिकारी हो।

अमेरिकी, युरोपेली र क्यानडाली अन्तरिक्ष एजेन्सीमा काम गर्ने इन्जिनियरहरूले यो नयाँ टेलिस्कोप हबलभन्दा १०० गुणासम्म शक्तिशाली हुने बताएका छन्।

विश्वभरका हजारौँ मानिसहरू उक्त परियोजनामा पछिल्लो ३० वर्षयता कार्यरत थिए। शनिवारको प्रक्षेपण अबको छ महिनामा हुनुपर्ने जटिल शृङ्खलाबद्ध कामको सुरुवात मात्रै हो।

उक्त टेलिस्कोप पृथ्वीभन्दा करिब १५ लाख किलोमिटर पर पुर्‍याइनेछ। त्यहाँसम्म पुग्ने क्रममा वेबले अहिलेको आफ्नो स्वरूप बदल्ने छ र त्यो ककुनबाट पुतली निस्किएको जस्तै हुने बताइन्छ।

अमेरिकी अन्तरिक्ष एजेन्सी प्रशासक बिल नेल्सनले वेब एक असाधारण मिसन भएको बताए। ‘हामीले ठूलो सपना देख्दा कतिसम्म हासिल गर्न सक्छौँ भन्ने यो ज्वलन्त उदाहरण हो। यो परियोजना जोखिमपूर्ण छ तर ठूलो पुरस्कार पाउन जोखिम त मोल्नै पर्छ’ प्रक्षेपण अगाडि उनले भने।

यो सुपर टेलिस्कोप ब्रह्माण्डमा धेरै टाढासम्म हेर्न मिल्ने गरी निर्माण गरिएका कारण यसले १३.५ वर्षअघिको पहिलो ताराको प्रकाश पहिचान गर्न सक्ने अपेक्षा गरिएको छ।

NASA congratulates Indian astronomers on Star Galaxy discovery | Latest  News India - Hindustan Times

‘हामी ब्रह्माण्डबारे सबैलाई चकित बनाउने रहस्यहरू पत्ता लगाउन सक्नेछौँ। यो टेलिस्कोपको सबैभन्दा उत्साहजनक सम्भावना मेरो लागि यही नै हो’ परियोजनाका उपप्रमुख समेत रहेका वैज्ञानिक डा. एम्बर निकोल स्ट्रगनले भनिन्।

यसमा ६.५ मिटर ब्यासको खगोलीय ऐना प्रयोग गरिएको छ जुन अहिलेसम्म पृथ्वीको कक्षमा पठाइएकामध्ये सबैभन्दा ठूलो हो। खुम्च्याएर पठाइएको यो ऐनालाई अन्तरिक्षमा फैलिन नै दुई हप्ताको समय लाग्नेछ।

यो टेलिस्कोप पूर्ण सञ्चालनमा आएर तस्बिरहरू पठाउन छ महिना लाग्ने डा. स्ट्रगन बताउँछिन्।

नासाका अनुसार यस टेलिस्कोपको लामो तरङ्ग क्षमताले समयको सुरुवातको धेरै नजिकसम्म हेर्न सकिन्छ र आकाशगङ्गाहरूको पहिलो निर्माण अवलोकन गर्न सकिन्छ।

टेलिस्कोपले अहिले पनि ताराहरू बन्ने क्रममा रहेको धुलोका कणहरू भित्रसम्म हेर्न सकिने बताइएको छ।

डा. स्ट्रगनका अनुसार वैज्ञानिकहरूले वेबबाट पहिलो वर्षमा के हेर्ने भन्नेबारे पहिले नै योजना बनाइसकेका छन्।

‘यसले हाम्रो सौर्यमण्डलका ग्रहहरू अध्ययन गर्नेदेखि लिएर १३.५ अर्ब वर्षअघि पहिलो आकाशगङ्गाहरूको उत्पत्ति र यसबीचको समयका सबै कुराहरू हेर्नेछ’ उनले भने। बीबीसी

Here are NASA's best images of all the planets in the solar system |  TweakTown


प्रतिक्रिया दिनुहोस्