इजरायलमा बर्डफ्लुका कारण मरे दुई हजार सारस

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ९ : ५४


जेरुसेलम। उत्तरी इजरायलको एउटा आरक्षण क्षेत्रमा बर्डफ्लुबाट दुई हजार भन्दाबढी सारस मरेका छन्।

बर्डफ्लुबाट अन्य १० हजार सारस संक्रमित भएको हुन सक्ने आरक्षका अधिकारीहरुले अनुमान गरेका छन्। इजरायलको प्रकृति तथा पार्क निकायका विज्ञ ओहाड ह्याट्सओफीका अनुसार हरेक वर्ष भाइरसबाट इजरायलमा हजारौं चराचुरुङ्गी प्रभावित भएका छन्। तर, यस वर्षको महामारी अन्य वर्षको तुलनामा ठूलो भएको अर्का विज्ञ उरी नाभेह बताउँछन्।

बर्डफ्लुबाट ठूलो संख्यामा चराहरुको मृत्यु भएको घटना ‘अस्वभाविक’ भएको नाभेहको भनाई छ। हरेक वर्षजस्तै यो वर्ष पनि अक्टोबर महिनायता अफ्रिका जाने क्रममा करिव एक लाख आप्रवासी सारस इजरायल पुगेका छन्।

तीमध्ये अधिकांश सारसको एउटा बथान हुला उपत्यकामा रोकिएको थियो। हुला उपत्यका अफ्रिका जाने आप्रवासी सारसका लागि एउटा ‘ट्रान्जिट पोइन्ट’ हो। सो उपत्यकामा ४० हजारभन्दा बढी सारस रहेको अनुमान गरिएको छ।

यसैबीच, उत्तरी इजरायलमा केही चल्लामा एच५एन१ भाइरस देखिएको इजरायलको कृषि मन्त्रालयले जनाउको छ।

संक्रमण देखिएपछि मन्त्रालयले प्रभावित फार्मबाट अन्डा बिक्रीमा रोक लगाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २००३ यता एच५एन१ भाइरसबाट इन्डोनेसिया, इजिप्ट र भियतनाममा ४५० जना भन्दाबढी मनिसको मृत्यु भएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्