बजिमय बनिन् खोटाङ कांग्रेसको पहिलो निर्वाचित केन्द्रीय सदस्य

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ४ : ३६


खोटाङ । खोटाङले नेपाली कांग्रेसको पहिलो निर्वाचित केन्द्रीय सदस्य पाएको छ।

नेतृ सरस्वती बजिमयले जिल्लाबाट कांग्रेसको पहिलो निर्वाचित केन्द्रीय सदस्यको इतिहास रचेकी हुन्।

जिल्लाबाट कांग्रेसको एकजना मनोनीत केन्द्रीय सदस्य मात्र बनेको इतिहास छ।

१४औं राष्ट्रिय महाधिवेशनमा आदिवासी जनजाति (महिला) तर्फ दुई हजार ४८ मत ल्याएर बजिमय केन्द्रीय सदस्यमा विजयी भएकी हुन्। हालसम्म जिल्लाका दर्जनौं नेताले विभिन्न राष्ट्रिय महाधिवशनमा कांग्रेस केन्द्रीय सदस्य चुनिन प्रयास गरे पनि सफल हुन सकेका थिएनन्।

बजिमय तेस्रो प्रयासमा केन्द्रीय सदस्य निर्वाचित भएकी हुन्। उनी २०६७ र २०७२ कांग्रेस केन्द्रीय सदस्यमा पराजित भएकी थिइन्।

२०५७ सालमा कांग्रेसमा फुट आएकाबेला तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकका केन्द्रीय सदस्यमा मनोनीत भएका विदुरप्रसाद पौडेल २०६२ सालमा पार्टी समायोजन हुँदा पनि केन्द्रीय सदस्य नै बनाइएका थिए।

पौडेल जिल्लाको पहिलो कांग्रेस मनोनीत केन्द्रिय सदस्य र बजिमय निर्वाचन प्रकृयाबाट जिल्लाको पहिलो निर्वाचित केन्द्रीय सदस्य बनेको कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई बताउँछन्।

२०७० सालमा समानुपातिक सांसद बनेकी बजिमय २०७४ को प्रतिनिधिसभा सदस्यमा पराजित भएकी थिइन्।

२०३६ सालको जनमतसंग्रहपछि कांग्रेस निकट महिला संगठनबाट राजनिती थालेकी उनले महिला संघको जिल्ला सभापति, केन्द्रीय कोषाध्यक्ष, महिला विभागको केन्द्रीय सदस्य, महासमिति सदस्यलगायतका भूमीका निर्वाह गरिसकेकी छन्।

२१ फागुन २०१३ मा ओखलढुंगा बजारमा जन्मिएकी बजिमयको स्थायी बसोबास दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलमा छ।


प्रतिक्रिया दिनुहोस्