गोत्र थोपरेर खस जातिको पहिचान नमेटाउन समावेशी आयोगलाई चेतावनी

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ४ : २४


काठमाडौं । खसक्षेत्री एकता समाज र विश्व मस्ट धर्म महासंघले खस जातिको स्वतन्त्र पहिचान मेटाउने प्रयास नगर्न राष्ट्रिय समावेशी आयोगको ध्यानाकर्षण गराएको छ।

समाजका महासचिव इन्द्र बराल र महासंघका अध्यक्ष युवराज कार्कीले शुक्रबार समावेशी आयोगका अध्यक्ष डा.रामकृष्ण तिमल्सेनालाई ज्ञापनपत्र बुझाउँदै आफूहरु गोत्रीय अवधारणाभन्दा वंशरकैरनको पहिचानमा जोडिएको भन्दै यसलाई हटाएर गोत्र थोपरिए नमान्ने चेतावनी दिएका छन्।

आयोगले खस आर्य समुदायको थररगोत्र सूचीकरणका लागि सुझाव आह्वान गरेका बेला खस समुदायले असन्तुष्टि जनाएका हुन्।

‘हामी गोत्रीय अवधारणामा हैन वंशरकैरनको इतिहास बोक्दछौं जस्ले जमिनसँग हाम्रो पहिचान जोडेको रहन्छ। हामी खप्तड, लामाथाडा, श्रीपाल, खुलाल इत्यादी भूगोलससँग वंशको पहिचान जोडिएको जाति हो। यसलाई हटाएर गोत्र थोपर्नु भनेको नेपालकै प्रचलित कानुनअनुसार जाति नास अर्थात जेनोसाइट गरिने अपराधिक कार्य हो’, ज्ञापनपत्रमा भनिएको छ।

समावेशी आयोगले खस आर्यका थरि, वर्ण र गोत्र सुचिकृत गर्ने धृष्टता गरेको भन्दै ज्ञापनपत्रमा गम्भीर ध्यानाकर्षणसमेत जनाइएको छ।

‘इतिहासको कालो खण्डमा खस माथि थोपरिएको विभेदकारी वर्णको पहिचान र खसको पहचिान नष्ट गर्न थोपरिएको तथाकथित र अप्रमाणित एवं तर्क संगत नभएको गोत्रलाई प्रमाणित गर्दै आर्यकरण गर्ने कार्य खसको स्वगभिमान, आत्म समन र प्रमाणित इतिहासको हरण हो’, ज्ञापनपत्रमा भनिएको छ।

संविधानले नै वर्णगत पहिचानले मानवीय सिँढीगत विभेदलाई व्यवस्थित गर्ने भएबाट संशोधनमार्फत हटाई सकेको अवस्थामा संवैधानिक अक्षर र भावना विपरीत वर्ण स्थापित गर्दै विभेदलाई व्यवस्थित गर्ने प्रयासको गम्भीर संवैधानिक उल्लंघन र भयानक दुष्परिणाम आउने दुबै संगठनको चेतावनी छ।

‘आयोगले विश्वव्यापी मान्यता र संवैधानिक भावनालाई शिरोपर गर्दै खस जातिका थर वंशर कैरनको पहिचान कायम गर्दै खसको स्वतन्त्र पहिचान कायम गर्दै खसमाथि न्याय गरोस्’, ज्ञापनपत्रमा भनिएको छ, ‘सरोकारका समाजको प्रतिनिधित्व गर्ने संस्थाको राय, सल्लाह र सहभागतिामा यस्तो सम्वेदनशील एवं दूरगामी महत्वका विषयमा निर्णय गरोस्।’


प्रतिक्रिया दिनुहोस्