गुगल र फेसबुकभन्दा लोकप्रिय बन्यो टिकटक, संसारमै सबैभन्दा बढी प्रयोग हुने साइट बन्यो

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ३ : २६


भिडिओ सेअरिङ एप्स टिकटक सर्च इन्जिन गुगलभन्दा बढी लोकप्रिय बनेको छ।

गुगललाई जितेर टिकटक संसरमा सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइट बन्न पुगेको बीबीसीले जनाएको छ।

सूचनाप्रविधि सुरक्षासम्बन्धी कम्पनी क्लाउडफ्लेअरले यो विवरण सार्वजनिक गरेको हो।

इन्टरनेटका वेबसाइटहरूको नयाँ वरियता सूचीमा यो वर्षको फेब्रुअरी, मार्च र जुन महिनामा नै टिकटकले गुगललाई शीर्ष स्थानबाट हटाएको थियो र त्यसपछि अगस्ट महिनायता टिकटक नम्बर एक स्थनमा रहँदै आएको छ।

गत वर्ष गुगल पहिलो स्थानमा र टिकटक, एमजन, एपल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्स लगायतका साइटहरू प्रथम दश स्थानमा थिए।

टिकटकको लोकप्रियताका पछाडि कोभिड महामारी सहायक रहेको अनुमान गरिएको छ।

मानिसहरू लकडाउनका बेला घरैमा बस्नुपर्ने अवस्थामा उनीहरूले मनोरञ्जनका उपायहरू खोज्दै गर्दा टिकटकमा पनि धेरै जाने गरेको हुनसक्छ।

यो वर्षको जुलाई महिनासम्ममा टिकटक एप तीन अर्बभन्दा बढी पटक डाउनलोड भएको अर्को डेटा कम्पनी सेन्सर टावरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्