महिला राष्ट्रिय क्रिकेटः सेमिफाइनल समीकरण पूरा

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ४ : १६


काठमाडौं। सुदूरपश्चिम प्रदेशको जितसँगै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

बिहीबार भएको अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश २ लाई ८७ रनले पराजित गरेसँगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो।

यसअघि समूह ‘ए’ बाट प्रदेश १ र लुम्बिनी प्रदेश तथा समूह ‘बी’ बाट एपीएफले सेमिफाइनलमा स्थान बनाइसकेका छन्।

बिहीबार नै हुने एपीएफ र गण्डकी प्रदेशबीचको खेलले समूह ‘बी ’को विजेता र उपविजेताको टु‌ंगो लगाउनेछ। एपीएफ र सुदूरपश्चिमको समान चार अंक छ।

फाप्ला क्रिकेट मैदानमा १४४ रनको लक्ष्य पाएको प्रदेश २ निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ५६ रनमा समेटियो। प्रदेश २ कि साना प्रविनले १४ रन तथा विमला मगरले १२ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन्।

यसअघि सुदूरपश्चिमले विन्दु रावलको अर्धशतकमा निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १४३ रन बनाएको थियो। विन्दुले अविजित ५० रन जोडिन्। त्यस्तै रुबि पोदारले २१, डल्ली भट्टले १५ तथा कविता जोशी र संगीता धामीले समान १३ रन बनाए। प्रदेश २ का लागि विमला मगरले दुई विकेट लिइन्।


प्रतिक्रिया दिनुहोस्