‘सबैभन्दा ठूलो सैन्य शक्ति बन्ने होडमा चीन, अमेरिकालाई मात खुवाउने उसको दाउ’

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ५ : ३३


चीनले द्रुत गतिमा आफ्नो सशस्त्र सैन्य शक्तिलाई मजबुत पारिरहेको छ। क्षेप्यास्त्र प्रविधि, परमाणु अस्त्र र आर्टिफिसिअल इन्टेलिजन्समा चीनले हासिल गरेको प्रगतिलाई लिएर कैयौँ पश्चिमा पर्यवेक्षकहरूले गम्भीर चिन्ता व्यक्त गरिरहेका छन्।

चीनका कारण विश्वको सैन्य शक्ति सन्तुलनमा तीव्र परिवर्तन आएको उनीहरुको विश्वास छ। त्यहाँका राष्ट्रपति सी चिनफिङले चिनियाँ सुरक्षा फौज सन् २०३५ सम्म आधुनिकीकरण भइसक्नुपर्ने आदेश दिएका छन्।

त्यसैले पनि विश्वभरका मूलुकहरुको चासो यतिबेला चीनमा केन्द्रित भएको हो। सीको भनाइमा त्यो बेलासम्म उनीहरू ‘विश्वस्तरको सैनिक शक्ति बनिसक्नुपर्नेछ’ र सन् २०४९ सम्म ‘युद्ध लड्ने र जित्ने’ क्षमता हासिल गरिसक्नुपर्ने छ।

त्यो जटिल काम भएता पनि चीन आफ्नो लक्ष्यमा अघि बढिरहेको छ।

चीनले आफ्नो रक्षा खर्च पारदर्शी नबनाएको र फरकफरक आँकडा प्रस्तुत गरेको भन्दै केही अन्तर्राष्ट्रिय विज्ञहरूको आलोचना खेप्ने गरेको छ।

बेइजिङले आफ्नो औपचारिक रक्षा खर्च सार्वजनिक गर्छ तर पश्चिमाहरूले चीनले आफ्ना सुरक्षा बललाई उपलब्ध गराउने बजेट त्योभन्दा उल्लेख्य रूपमा बढी भएको आकलन गर्छन्।

अमेरिकाबाहेक विश्वको अन्य देशभन्दा बढी अहिले चीनले रक्षा खर्च गर्ने विश्वास गरिन्छ। वासिङ्टनस्थित सेन्टर फर स्ट्रेटिजिक एन्ड इन्टर्न्याश्नल स्टडिजका अनुसार चिनियाँ सैनिक बजेट वृद्धिले देशको सम्पूर्ण आर्थिक वृद्धिदरलाई कम्तीमा एक दशकयता जितेको छ।

परमाणु अस्त्र भण्डारमा वृद्धि
गएको नोभेम्बरमा अमेरिकी रक्षा मन्त्रालयले चीनले यो दशकको अन्त्यसम्म आफ्नो परमाणु भण्डार चार गुणाले बढाउने भविष्यवाणी गरेको थियो।

चीनको सरकारी सञ्चारमाध्यमले उक्त दाबीलाई ुहावादारी र पक्षपाती अनुमानु भन्दै परमाणु शक्तिलाई ुन्यूनतम तहमाु राखिएको जनाएको थियो।

चीनले सन् २०३० को अन्त्यसम्म १,००० वटा परमाणु क्षमतायुक्त क्षेप्यास्त्र विकास गर्ने योजना बनाएको थियो।

तर विश्वव्यापी अस्त्र भण्डारको वार्षिक विश्लेषण प्रकाशित गर्ने स्टकहोम इन्टरन्याश्नल पीस रिसर्च इन्स्टिच्युटका विज्ञहरूले हालैका वर्षमा चीनले आफ्ना परमाणु क्षमतायुक्त क्षेप्यास्त्रको सङ्ख्या बढाएको उल्लेख गरेको छ।

अमेरिकासँग ५,५५० त्यस्ता अस्त्र रहेको र चीनले उक्त लक्ष्य भेट्टाउन अझै लामो समय लाग्ने भनिएको छ। तर चीनले विस्तार गरिरहेको परमाणु क्षमतालाई पश्चिमा सैन्य सर्वोच्चताको चुनौतीका रूपमा हेरिएको छ।

‘चीनका परमाणु अस्त्र सबैभन्दा महत्त्वपूर्ण विषय हुन्’ रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युट लन्डनकी भिर्ला नुआन भन्छिन्। उनका अनुसार दुवै पक्षबीच विश्वासको ठूलो खडेरी छ र संवाद छैन।

हाइपरसोनिक भविष्य
हाइपरसोनिक क्षेप्यास्त्र ध्वनिको गतिभन्दा पाँच गुणा वेगवान् हुन्छन्। उनीहरू अन्तर्महादेशीय बलिस्टिक क्षेप्यास्त्रजस्तो तेज हुँदैनन् तर उडानका क्रममा उनीहरूलाई राडारबाट पहिचान गर्न एकदमै जटिल हुन्छ र प्रतिरक्षा प्रणाली काम नलाग्ने हुनसक्छन्।

‘चिनियाँहरूले आफूहरू धेरै पछाडि रहेको बुझेका छन् त्यही भएर उनीहरूले महत्त्वपूर्ण विकास गरेर अरू शक्तिलाई पछाडि पार्न चाहेका छन्’ लन्डनस्थित किङ्स कलेजका जिनो लिओनी भन्छन् ‘हाइपरसोनिक क्षेप्यास्त्रहरू विकास गरेर उनीहरूले एउटा ढङ्गले आफ्नो लक्ष्य हासिल गर्न चाहिरहेका छन्।’

चीनले हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको अस्वीकार गरेको छ। तर यसै वर्षको गर्मीयाममा उसले गरेका दुईवटा रकेट परीक्षणले चिनियाँ सेना उक्त अस्त्र हासिल गर्ने चरणमा रहेको सङ्केत गरेको पश्चिमा विज्ञहरूले विश्वास गरेका छन्।

चीनले कस्तो प्रणाली विकास गरिरहेको हुनसक्छ भन्ने कुरा अस्पष्ट छ।

चीनले विश्वको सबैभन्दा ठूलो जलसेना भएको देश बन्ने क्रममा अमेरिकालाई पछाडि पारेको छ। तर विज्ञहरूले जहाजको सङ्ख्याको साधारण तुलनाले मात्रै पनि जलसेनाको सामर्थ्य तुलना गर्ने विभिन्न आधारहरू प्रस्तुत गर्ने जनाएका छन्।

अहिले जलसेनाको क्षमतालाई आधार मान्दा अमेरिका धेरै अगाडि छ किनभने अमेरिकासँग ११ वटा एअरक्राफ्ट क्यारियर छन् भने चीनसँग दुईवटा। अमेरिकासँग परमाणु क्षमतायुक्त पनडुब्बी र ठूला युद्धपोत पनि बढी छन्।

तर चीनले आफ्नो जलसेनालाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ। त्रिशुङ्गा विश्वविद्यालयमा आबद्ध पिपुल्स लिबरेसन आर्मीका पूर्व वरिष्ठ कर्णेल झोउ बो हाल समुद्रमा आधारित जोखिमहरू कम गर्न चीनले आफ्नो जलसेनाको क्षमता बढाउनु एकदमै महत्त्वपूर्ण रहेको बताउँछन्।

उनी भन्छन्,‘हामीले लामो समय भोगिरहेको एउटा समस्या भनेको चिनियाँ जल क्षेत्रमा हामीले ठानिरहेको अमेरिकी उक्साहटमा हो।’

अमेरिकी जलसेनाले सन् २०२० देखि सन् २०४० सम्म चिनियाँ नौसेनाको जहाजको सङ्ख्या करिब ४० प्रतिशतले बढ्ने भविष्यवाणी गरेको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्