पाकिस्तानले ३० वर्षमाथिका सबैलाई कोभिडविरुद्ध बुस्टर डोज दिने

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ११ : २७


इस्लामाबाद। पाकिस्तानमा कोभिडको दोस्रो डोज खोप लगाएका व्यक्तिहरुलाई बुस्टर डोज दिइने भएको छ।

विभिन्न देशहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेका बेला सरकारले ३० वर्षमाथिका सबै जनालाई बुस्टर डोज दिने भएको हो।

आगामी १ जनवरीदेखि सो उमेर समूहमाथिका नागरिकलाई निःशुल्क बुस्टर डोज दिन लागिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य सेवाका महानिर्देशक डा. राना सफ्दारले जानाकारी दिएका छन्। यसअघि ५० वर्ष उमेर पुगेका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई बुस्टर डोज दिइएको थियो।

ओमिक्रोन भेरियन्टको संक्रमण बढेको भन्दै राष्ट्रिय स्वास्थ्य सेवाले ३० वर्षदेखि माथिका सर्बसाधारणलाई खोप लगाउन अनुरोध गरेको छ। अहिलेसम्म ९५ भन्दाबढी देशका ५८ हजारलाई ओमिक्रोन भेरियन्ट देखिएको छ।


प्रतिक्रिया दिनुहोस्