बोइङ र एअरबसको आग्रहः फाइभ–जी प्रयोगमा हतार नगरौं, सुरक्षित उडान क्षमतालाई हानी गर्छ

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ५ : ०१


विश्वका दुई सबैभन्दा ठूला विमान निर्माता कम्पनीका अधिकारीहरूले अमेरिकी सरकारलाई मोबाइलको फाइभजी प्रविधिलाई लागु गर्न हतार नगर्न आग्रह गरेका छन्।

एउटा पत्रमा बोइङ र एअरबसका प्रमुख अधिकारीहरूले सो प्रविधिले नागरिक उड्डयन उद्योगमा ठूलो नकारात्मक असर पर्न सक्ने चेतावनी दिएका छन्।

बीबीसीका अनुसार यसअघि पनि फाइभजीको सी–ब्यान्ड तरङ्गको प्रयोगले विमानको विद्युतीय उपकरणको कामलाई प्रभावित पार्न सक्ने सम्भावना रहेको बताइएको थियो।

अमेरिकाका दुई ठूला टेलिकम कम्पनीहरू एटीएन्डटी र भेरिजन सन् २०२२ को ज्यानुअरी ५ देखि फाइभजी प्रविधि लागु गर्ने तयारीमा छन्।

‘फाइभजीले विमानको सुरक्षित उडान गर्ने क्षमतालाई नकारात्मक असर गर्न सक्छ’ बोइङका डेभ कल्हन र एअरबस अमेरिकाका जेफ्री निटलले अमेरिकी यातायातमन्त्री पीट बूटजेजलाई पठाएको पत्रमा लेखिएको छ।

सो पत्रमा एअरलाइन्स फर अमेरिकाले गरेको एउटा अध्ययनको तथ्याङ्कलाई संलग्न गरिएको छ। सो अध्ययनले सन् २०१९ देखि अमेरिकामा फाइभजी नियम लागु भएको भए अहिलेसम्म ३४५,००० यात्रुवाहक उडान र ५,४०० मालवाहक उडान ढिलो वा अन्यत्रै अवतरण वा रद्द भएको हुने निष्कर्ष निकालेको छ।

उड्डयन उद्योग र अमेरिकी नागरिक उड्डयन निकाय एफएएले फाइभजीले विमानका उचाइ मापन यन्त्रजस्ता महत्त्वपूर्ण उपकरणलाई असर गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

यही महिना एफएएले फाइभजीले उडान अन्यत्रै लग्नुपर्ने अवस्था आउन सक्ने भन्दै यस विषयमा विस्तृत जानकारी ज्यानुअरी ५ अगाडि दिने बताएको छ।


प्रतिक्रिया दिनुहोस्