पोखरा। पोखरामा एक होस्टल वार्डेनले अमानवीय कार्य गरेपछि उक्त कार्यको विरोध भएको छ। साना बालकले ओछ्यानमा पिसाब फेरेकोभन्दै उनको लिंग डोरीले बाँधिदिएपछि यस कार्यको विरोध भएको हो।
लिंग बाँधिएपछि बालकले पिसा फेर्न नसक्दा उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो। पोखरा १५ गलेश्वरचोकमा रहेको न्यु लाइफ होस्टेलकी वार्डेन जानुका नेपालीले नाबालक रेमन बुढालाई त्यसरी यातना दिएकी हुन्।
हिमालयन गुडलाईफ काठमाडौँद्वारा सञ्चालित होस्टेलकी वार्डेन नेपालीले राती सुत्दा ओछ्यानमा पिसाब गरेपछि रेमनको लिङ्गमा रबरले बाँधिदिएकी हुन्।
उनले रेमनलाई जस्तै अन्य विद्यार्थीलाई पनि त्यसैगरी यातना दिने गरेको विद्यार्थीहरु बताउँछन्। उक्त विद्यालयमा अभिभावक नभएका बालबालिका पढ्छन्। त्यहाँ रेमनसँगै ९ बालबालिका बस्छन्।
नर्सरीमा पढ्ने बालककाे त्यस्ताे अवस्थाकाे फोटो सार्वजनिक भएपछि हङ्गामा भएको हो।
सोमबार पढाउन भनेर शिक्षिका सिर्जना कँडेल कक्षामा गएपछि यस क्रुर व्यवहारको पर्दाफास भएको हो। एकजना विद्यार्थीले लिङ्ग बाँध्न सजिलो हुन्छ भन्दै रबर टिपेर शिक्षिकालाई दिएपछि उनी आश्चर्यचकित भएकी थिइन्। यस्तो कुरा कसले भन्यो र कसरी आयो भन्दै खोजी हुन थालेपछि विद्यार्थीले रेमनको लिङ्ग बाँधेको देखाइदिए।
रेमन त्यसबेला रोइरहेको थियो। लिङ्ग बाँधिएको अवस्थामा थियो भने, पेट फुलेको थियो।
यसको खोजी हुन थालेपछि होस्टेल वार्डेन जानुकाले बाँधेको घटना सार्वजनिक भएको हो।
होस्टेल सञ्चालक समितिले तत्कालै बोलाएर सोधपुछ गर्दा आफूले यस्तो नगरेको बताएकी छिन्। यद्यपी होस्टेल सञ्चालक राहुल नेपालीले घटनाको जिम्मेवारी लिँदै अब आइन्दा घटना नदोहोर्याउने प्रतिबद्धता जनाएका छन्। उनले जानुकलाई होस्टेलबाट निकाल्ने पनि बताएका छन्।