डडेल्धुरा जिल्ला समन्वय समितिका प्रमुख भट्टको निधन

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ७ : ५४


डडेल्धुरा । जिल्ला समन्वय समितिका प्रमुख गणेश भट्टको निधन भएको छ। उनको आज काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

एक्कासी बेहोस भएपछि ५० वर्षीय भट्टलाई गत मङ्सिर २८ गते उपचारका लागि काठमाडौँ लगिएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ। उनलाई उपचारका लागि अन्नपूर्ण अस्पताल भर्ना गरिएको थियो । भट्टलाई मस्तिष्कघात भएको बताइएको छ।

भट्ट नेपाली कांग्रेसबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए। उनी पाटन क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी सङ्घमा आवद्ध थिए। भट्ट नेपाल तरुण दलको केन्द्रीय सचिव, कांग्रेस डडेल्धुराको क्षेत्रीय सभापति र नेपाल बार एसोसिएशन डडेल्धुराको अध्यक्षसमेत रहेका थिए। विसं २०६२÷६३ को आन्दोलनका क्रममा उनले तीन महिना जेल जीवन बिताएका थिए।

भट्टको मङ्गलबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ। रासस


प्रतिक्रिया दिनुहोस्