टेनिस स्टार पेंगले चीनका पूर्व उप–प्रधानमन्त्रीमाथि लगाएको यौन दुर्व्यवहारको आरोप फिर्ता लिइन्

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  २ : १३


विश्वचर्चित चिनियाँ टेनिस खेलाडी पेंग सुईले हालसालै चिनियाँ कम्युनिस्ट पार्टीका एक शीर्ष नेतामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्।

पेंगले पूर्व उपप्रधानमन्त्री झाङ गाओलीमाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि विश्वभर यो विषय चर्चामा आएको थियो। विश्व टेनिस संघले यो घटनामा आपत्ति जनाएको थियो।

पेंगले सामाजिक संजाल विबोमा आफूलाई कम्युनिस्ट नेता झाङले यौन सम्पर्कको लागि बाध्य बनाउन दबाब दिने गरेको बताएकी थिइन्।

यतिबेला भने पेंगले आफूले नेता झाङलाई कहिल्यै यौन दुर्व्यवहारको आरोप नलगाएको बताएकी छिन्। उनी आरोपबाट पछाडि हटेकी हुन्। यद्यपी विश्व टेनिस संघले पेंगको सुरक्षाको बारेमा चिन्ता व्यक्त गरेको छ।

शक्तिको दबाबमा आएर उनले आरोपबाट पछाडि हटेको हुनसक्ने आशंका गरिएको छ। पेंगले भने आफूलाई कसैले दबाब नदिएको र आफू स्वतन्त्र रुपमा हिँडिरहेको बताएकी छिन्।

यसअघि यौन दुर्व्यवहारको आरोप लगाएपछि उनी केही समय सार्वजनिक रुपमा देखा परेकी थिइनन् जसले विभिन्न शंका र उपशंका उत्पन्न गराएको थियो। बीबीसी


प्रतिक्रिया दिनुहोस्