बैतडी। राष्ट्रिय राजनीतिको प्रभाव गाउँ स्तरमा पर्न थालेको घटना नौलो भने होइन। हरेक बेला संघीय तथा प्रदेश सरकारमा राजनीतिक दलहरूले गरेको गठबन्धनको प्रभाव गाउँ स्तरमा सोझै झल्किने गर्दछ।
केन्द्रमा पार्टीका प्रमुख नेताले विपक्षी पार्टीका विषयमा जे बोल्छ वा जे सहमति गर्छ सोही कुरा गाउँ स्तरका नेताको व्यवहारमा प्रस्ट देखिने गरेको छ।
बैतडीको दशरथचन्द नगरपालिका २ मा रहेको जनकालिका बचत तथा ऋण सहकारी संस्थामा यसअघिका साधारण सभाले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने गरेकोमा यसपालि भने अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचन भएको छ। त्यो पनि कांग्रेस र माओवादी गठबन्धन एकातिर छ भने, अर्कोतिर एमाले उम्मेदवार उभिएका छन्।
अध्यक्षमा एमाले वडा कमिटी अध्यक्षसमेत रहेका खडक बोहरा र माओवादी केन्द्रका वडा उपाध्यक्ष प्रकाश बोहरा भिडेकाछन्। यसैगरी उपाध्यक्षमा एमालेका वडा कमिटी सदस्य वीरबहादुर बोहरा भिडेकाछन् भने, गठबन्धनका तर्फबाट कांग्रेस वडा कार्यसमिति सदस्य वीरबहादुर बोहरा सोवेदार मैदानमा छन्।
अध्यक्ष र उपाध्यक्षमा आज मतदान भएको छ । ७ सय ७५ सेयर सदस्य रहेको सहकारी संस्थामा आज ५ सय ५२ जनाले मतदान गरेको युवा संघका केन्द्रीय सदस्य सूर्य बोहराले बताए ।
आज भएको मतदानको अन्तिम मत परिणाम राति साढे ८ बजे सार्वजनिक भएको छ । अध्यक्षमा २ सय ९८ मत प्राप्त गरी एमालेका खडक बोहरा विजयी भएकाछन् भने, उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश बोहराले २ सय ४१ मत प्राप्त गरेकाछन् । यसैगरी उपाध्यक्षमा पनि एमाले उम्मेदवार नै विजयी भएकाछन् । एमालेका वीरबहादुर बोहराले २ सय ६१ मत प्राप्त गरी उपाध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी वीरबहादुर बोहराले २ सय ५४ मत पाएकाछन् ।
सहकारी संस्थाका अन्य पदाधिकारी भने, सर्व सम्मतिबाट चयन भएका छन् । जस अनुसार सचिवमा अर्जुनराम लावड, कोषाध्यक्षमा प्रेमसिंह बोहरा र सहसचिवमा पुष्पा बोहरा सर्वसम्मत चयन भएकाछन् ।