कर्णाली प्रदेशका तीन जिल्लामा एक किलोमिटर पनि कालोपत्रे सडक छैन!

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ५ : ४९


 

सुर्खेत। कर्णाली प्रदेशका १० जिल्लामा कच्ची तथा पक्की गरी करिब एक हजार चार सय ४१ दशमलव १९ किलोमिटर सडक छ। तर यस प्रदेशको डोल्पा, हुम्ला र मुगु जिल्लामा हालसम्म एक मिटर सडक पनि कालोपत्रे भएको छैन।

डोल्पा एक सय सात दशमलब २६ किलोमिटर, मुगुमा २७ किलोमिटर र हुम्ला जिल्लामा २७ दशमलव ११ किलोमिटर कच्ची सडक विस्तार भएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन ‘कर्णाली प्रदेश वार्षिक प्रतिवेदन’ आर्थिक वर्ष २०७७–७८० का अनुसार आर्थिक वर्ष २०७७–७८ मा कालिकोट, दैलेख, सल्यान र सुर्खेत जिल्लामा पक्की सडकको तुलनामा कच्ची सडक खसै विस्तार भएको देखिँदैन।

तथापि, यी जिल्लामा पक्की सडक कालिकोटमा ६५ दशमलव ९ किलोमिटर, दैलेखमा एक सय ४८ दशमलब ८१ किलोमिटर, सल्यानमा एक सय ४५ दशमलब ८ किलोमिटर र सुर्खेतमा एक सय ८९ दशमलव २८ किलोमिटर सडक छ। कालिकोटमा ३६ किलोमिटर, दैलेख एक सय ३३ किलोमिटर, सल्यानमा ३४ दशमलब ४२ किलोमिटर र सुर्खेतमा ३० किलोमिटर कच्ची सडक रहेको छ।

जुम्लामा ९४ दशमलव ७६ किलोमिटर, जाजरकोट एक सय ६० दशमलव ४४ किलोमिटर र रुकुमपश्चिम ६३ दशमलव ७३ किलोमिटर कच्ची सडक निर्माण भएका छन् भने जुम्ला ३१ किलोमिटर, जाजरकोट ३७ किलोमिटर र रुकुमपश्चिममा ४७.४ किलोमिटर मात्रै पक्की सडक रहेको छ।


प्रतिक्रिया दिनुहोस्