कर्णाली राजमार्गको स्तरोन्ती नहुँदा यात्रुलाई सास्ती

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ७ : ४०


जुम्ला। कर्णाली राजमार्ग दैलेख सडक खण्डको केही भाग कालोपत्रे नहुँदा यात्रुलाई सास्ती भइरहेको छ। कर्णाली राजमार्गको दैलेख सडक खण्डको झन्डै १० किलोमिटर सडक कालोपत्रे भएको छैन।

कर्णाली राजमार्गको सडकको अस्ता ठिक नहुँदा दैनिक उपभोग्य बस्तु ढुवानी तथा आपूर्तिमा समस्या भएको छ। सडक डिभिजन कार्यालय सुर्खेतले १ सय ३२ किलोमिटर हेर्ने जिम्मा पाएको छ।

बाँकी १ सय किलोमिटर जुम्लाले हेर्दै आएको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माले बताए। वैशाखसम्म १० किलोमिटर कच्ची सडक ओटासिल हुने उनले बताए। ‘शर्माले भने, ७३ किलोमिटर सडक तत्काल स्तरोन्तीको काम हुँदैन। समयमै काम नगर्ने ठेकेदारका कारण केही ढिला भएको हो’,ईन्जिनियर शर्माले भने।

कर्णाली राजमार्ग कतिपय स्थानमा वर्षायामको पहिरोले पुरिएको छ। सडक पुनःनिर्माण गर्ने बहानामा वर्षै मोटो रकम खर्च हुने गरेको छ। तर, सडकको अवस्था फेरिएको छैन। कर्णाली राजमार्गको सुर्खेतदेखि गमगडीसम्मको सय किलोमिटर लामो सडकखण्डमा पहिरोको जोखिम अत्यधिक छ।

पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा पनि पन्छाउने उपकरण नहुँदा यात्रुले सास्ती व्यहोर्नुपरेको छ। यो राजमार्गको ट्र्याक खुलेको दशक बढी भइसकेको छ। तर, हालसम्म पनि यो राजमार्गमा ढुक्कसाथ यात्रा गर्ने बाटो बनेको छैन।

पहिरो गएका बेला जोखिमपूर्ण यात्रा गर्नुपर्ने भए पनि राजमार्ग स्तरोन्नतिका लागि राज्यको ध्यान पुग्न नसकेको कर्णालीवासीको गुनासो छ। सडक डिभिजन कार्यालय जुम्लाले प्रत्येक वर्ष दर्जनौं ठाउँमा पहिरो गए पनि पन्छाउने काम मात्रै गर्दै आएको छ। सडक स्तरोन्तीको काम भने खासै भएको देखिँदैन।

मृत्यु मार्गका नाममा परिचित कर्णाली राजमार्गमा अझै पनि दुर्घटनामा कमी आएको पाइँदैन। कर्णालीका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। साँघुरो सडक भएका कारण सवारी ओहोरदोहोर गर्न कठिन हुने गरेको ट्रक चालक जनक सिंहले बताए। उनले भने, ‘कर्णाली राजमार्ग उसै पनि जोखिम छ।’

सडकको स्तरोन्ती नहुँदा जोखिमपूर्ण अवस्थामा गाडी गुडाउनुपर्ने बाध्यता छ। ‘अझै पनि सडकको अवस्था राम्रो छैन, गाडी एक आपसमा पास गर्ने ठाउँ साँघुरो छ । कतिबेला नदिनमा खस्छ थाहै नहुने स्थिति छ,’ उनले भने।

स्तरोन्नतिका नाममा रकम सक्ने काम मात्रै

मृत्यु मार्गका नाममा परिचित कर्णाली राजमार्गमा दुई वर्ष यता सवारी दुर्घटनाका घटना बढ्न थालेका छन् । त्यसैमाथि जोखिमपूर्ण रूपमा यात्रा गर्नुपर्ने बाध्यता छ। जुम्लादेखि ९३ किलोमिटरको नाग्म गमगडी सडक खण्डमा २०७७र७८मा मात्रै २१ करोड ७८ लाख रकम सकिएको सडक डिभिजन कार्यालय जुम्लाका ईन्जियर सन्तोष भण्डारीले बताए । दुई वर्ष यता मात्रै गरेको नाग्म गमगडी सडकखण्ड २१ करोड ७८ लाख रुपैयाँ खर्च भइसकेको छ । बजेट अनुसार स्तरोन्नति शून्य छ ।

२० सिटको क्षमताको गाडीमा ५० जना यात्रु

कर्णाली राजमार्गमा दैनिक सवारी चापले पनि सडकको अवस्था बिग्रँदै गएको छ । जुम्लाबाट सुर्खेत, नेपालगन्ज जाने लामो दूरीका सवारीले क्षमताभन्दा धेरै यात्रु बोक्ने गरेका छन् ।

सवारी साधनले भार थाम्न नसक्ने गरी यात्रु बोक्ने गाडीलाई कुनै कारबाही गरेको देखिँदैन । एक जना सवारी चालकले नाम नलेख्ने सर्तमा गाडीमा बढी सवारी राखे पनि नराखे पनि एक चेकिङ पोस्टमा ५० रुपैयाँ दिनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्