उपल्लो डोल्पाको सुरक्षा भगवान भरोसा

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ४ : ५३


जाजरकोट। पाँच महिनाका लागि उपल्लो डोल्पा सुरक्षाविहिन अवस्थामा पुगेको छ। यहाँका तीन पालिकामा रहेका प्रहरी चौकी चिसो बढेसँगै सदरमुकाम दुनै झरेपछि उपल्लो डोल्पा सुरक्षाको सुरक्षा अवस्था भगवान भरोसामा पुगेको हो। सुरक्षा दिने प्रहरी नै हिमपातले असुरक्षित भएपछि दुनै झारिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

‘प्रहरी चौकी रहेका घरहरू रित्ता छन्। प्रहरीहरू सदरमुकाम दुनै आइसकेका छन्’, धोका प्रेमा गुरुङ भने। शे फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकामा रहेका प्रहरी चौकी सदरमुकाममा झारिएसँगै उपल्लो डोल्पा सुरक्षाका हिसाबले जोखिममा परेको छ।

उपल्लो डोल्पा चोरी निकासी तथा पैठारीको उच्च जोखिममा छ। यहाँबाट महुमूल्य जडीबुटी, जंगली जनावर तथा पूराना बुद्धका मुर्तिहरू पटक पटक चोरी भएका समाचार आइरहन्छन्।

प्रहरी चौकी नै नभएपछि झन् चोरी गर्नेको मनोबल बढ्ने स्थानीयको भनाइ छ। अहिले यहाँका तीन पालिकाका २१ वडा प्रहरीविहीन बनेका छन्।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निरन्जन थापाका अनुसार छार्का ताङसुङ गाउँपालिकाको कागकोट प्रहरी चौकी र शे-फोक्सुण्डो गाउँपालिकाको साल्दाङ प्रहरी चौकीका प्रहरी उपल्लो डोल्पामा रहेका छन्।

अहिले सदरमुकाम दुनैबाट नै उपल्लो डोल्पाको सुरक्षा दिने गरेको डिएसपी थापाले बताए। डोल्पो बुद्ध गाउँपालिकाको धो र टाक्सी, शे(फोक्सुण्डो गाउँपालिकाको निजालगुम्बा, भिजेर र रापको प्रहरी चौकीका प्रहरी जिल्लामा मर्ज भएका हुन्। डोल्पा सबैभन्दा ठुलो जिल्ला हो। स्थानीय तहको सहयोग पाएको भए प्रहरी चौकी उपल्लो डोल्पामै राख्ने सकिने डिएसपी थापाको भनाइ छ।

‘अहिले पनि सहयोग त पाइएको छ, अझै योभन्दा बढी सहयोगको अपेक्षा हामीले गरेका थियौं’, उनले भने। उपल्लो डोल्पामा बस्नका लागि अहिलेको समयमा लत्ताकपडादेखि चश्मा, बुटहरू नभएको उनले बताए।

अहिले उपल्लो डोल्पामा भारी हिमपातका कारण एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था नरहेको उनले बताए।

हिमपातले रोकियो कोभिड र नियमित खोप

उपल्लो डोल्पामा भारी हिमपात भएसँगै नियमित सञ्चालन हुने खोपदेखि कोभिडविरुद्ध लगाउने खोप अभियान समेत रोकिएको छ। मंसिरदेखि चैतसम्ममा खोपहरू बन्द हुने स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए।

त्यस्तै, यहाँका तीन पालिकामा बर्थिङ सेन्टर समेत छैन। सबै उपल्लो डोल्पाका महिला घरमै असुरक्षित तरिकाले सुत्केरी हुने गरेको शाहीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्