कठ्याग्रिँदो जाडोमा विद्यार्थी टेन्टमा बसेर पढ्न बाध्य

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १२ : २३


लमजुङ । मनाङको नासों गाउँपालिका–१ तालमा रहेको भानु माविका विद्यार्थी मंसिरको कठ्याङ्ग्रिँदो जाडोमा टेन्टमा बसेर पढ्न बाध्य छन् । ‘हिमालको चिसो सिरेटो र मस्र्याङ्दी नदीको चिसो हावाले कठ्याग्रिँदै पढ्नुपर्छ भानु माविको कक्षा १० मा अध्ययानरत छात्रा पूर्णिमा गुरुङ भन्छिन् । गत १ असारका बाढीले उनी पढ्ने विद्यालय बगाएर बगरमा परिणत भयो । उनी भन्छिन्, ‘बाढीले विद्यालय बगाएपछि टेन्टमुनि बसेर पढ्नुपरेको छ ।’

उनीमात्र होइन कक्षा ९ मा अध्ययनरत प्रतिक गुरुङले पनि टेन्टमुनि बसेर पढ्न निकै गाह्रो हुने गरेको बताए । ‘विद्यालयमा पढ्ने कहिले होला अब त जाडो धेरै बढ्यो टेन्टमा कसरी पढ्ने चिन्ताले पिरोलेको छ,’ उनी भन्छन् । प्रतिकमात्र होइन भानु माविको कक्षा ८ मा पढ्ने प्रवृति तामाङ पनि टेन्टमा बसेर पढ्न धेरै गारो भएको बताउँछिन् ।

विद्यालयमा पढाउने वातावरण नभएकाले चौरमा टेन्ट राखेर पठनपाठन गर्नुपरेको भानु माविका प्राध्यानाध्यापक श्यामकृष्ण पन्तले बताए । उनी भन्छन्, ‘गत १ असारमा मस्र्याङ्दी नदीमा आएको बाढीले विद्यालय भवन वगाएपछि अहिले बालकक्षादेखि कक्षा १० सम्मका विद्यार्थीलाई अस्थायी टेन्टमा राखेर पठनपाठन गराउँदै आएका छौ ।’ विद्यालयमा १० कक्षासम्म पठनपाठन हुने गरेको छ । चिसो मौसम अनि मस्र्याङ्दी नदीको चिसो हावा विद्यार्थीका लागि निकै कष्टकर बनेको पन्त बताउँछन् ।

ताल गाउँको सिङगो बस्तीसँगै विद्यालय पनि पूर्ण रुपमा जोखिममा परेपछि विद्यालयमा पठनपाठन गर्ने ठाउँ नै नभएको उनले जानकारी दिए । मनाङमा रहेको चार माध्यमिक विद्यालयमध्ये तीनवटा विद्यालयमा बाढीले क्षति पुर्‍याएको छ ।

भानु माविसँगै नासों गाउँपालिका ६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति मावि र सदरमुकाम चामेमा रहेको लोकप्रिय मावि पनि मस्र्याङ्दी नदीमा आएको बाढीले पूर्ण रुपमा क्षति पुर्‍याएको छ । मनाङमा २६ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालय छन् । मनाङमा चारवटा मावि, आठवटा आधारभूत र १५ वटा प्रावि छन् ।


प्रतिक्रिया दिनुहोस्